छन्द कविता : रोगी स्वयं डाक्टर
रचनाकार : हिरा भट्ट
छन्द :- शार्दूलविक्रीडित
साँढेले जब कुल्चियो पयरले बाछो छ आन्दोलित
के हो चोट?गएर सोध न सखे आफै अचानो सित
झुक्नै हुन्न कदापि आत्मबलले देखेर आडम्बर
थाँक्रोका भर हुन्छ,झुक्छ लहरा,झुक्दैन एक्ले बर
बोक्सी भैकन टोक्छ रातभरमा हो रूप मात्रै दुई
आफै गर्छ टुनामुना र दिउँसो देखिन्छ झाँक्री उही
छापा नै भरियो प्रचार गरियो आए बिरामी तर
रोगीको उपचार गर्छ बिचरा रोगी स्वयं डाक्टर
जस्ता साथ छ ताम्र, हो पितल त्यो,जाँच्दा जरा सक्कली
दर्जा पो सुनको लियो,बदलियो,त्यो रूप हो नक्कली
त्यो अस्तित्व कहाँ रहन्छ?नझुके बाछा र बाछीसित
हार्ला है कटुसत्य ख्याल नगरे विज्ञान साक्षीसित
झुक्नै पर्दछ शैलले यदि गरा कान्ला बिरामी बने
पन्क्षी टेक्छ उडेर उच्च नभमा झुक्दैन डाँडा भने
कालो मेघ मडारिँदा गगनमा मैना लुकिन् बाँसमा
हेर्दै चील उडेर मेघ उधिनी झुल्किन्छ आकाशमा
भुक्ने धर्म रहन्छ,छन् कुकुर जो,भुक्छन् भने भुक्न द्यौ
आफ्नै पुच्छर टाङ मुन्तिर गरी लुक्छन् भने लुक्न द्यौ
यात्रा रोकिनुहुन्न मार्गबिचमा हो ख्याल राख्नू सखे
टेक्दा लक्ष्य अबेर हुन्छ,पथमा ढुङ्गा बटुल्दै बसे
हिरा भट्ट, जन्मस्थल: पञ्चेश्वर-६,बिजुल,बैतडी
