जनताको जलविद्युत् शेयरमा रेटिङ गराउनु नपर्ने

Investopaper, चैत्र ०१, २०७५

‘नेपालको पानी जनताको लगानी, सबै नेपाली जलविद्युत्को शेयरधनी’ कार्यक्रममा समेटिएका जलविद्युत् आयोजनाले साधारण शेयर बिक्री गर्दा क्रेडिट रेटिङ गराउनु नपर्ने भएको छ । त्यस्तो प्रक्रियाले शेयर बिक्रीलाई समेत थप सरल र सहज बनाउनेछ ।

नेपाल धितोपत्र बोर्डले त्यस्तो निर्णय गरी आमरुपमा जानकारी दिएको छ । सरकारको कार्यक्रमअनुसार कार्यान्वयन आउन लागेका जनताको जलविद्युत् कार्यक्रमलाई थप सहजीकरण गर्न त्यस्तो व्यवस्था गरिएको हो ।

उक्त कार्यक्रमअन्तर्गत सङ्गठित संस्थाले धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा क्रेडिट रेटिङ गर्न नपर्ने गरी छुट दिइएको बोर्डले जनाएको छ । ‘क्रेडिट रेटिङ नियमावली, २०६८’ को नियम ३ को उपनियम ७ बमोजिम त्यस्तो छुट दिने निर्णय गरिएको हो ।

सरकारले उक्त कार्यक्रमअन्तर्गत पहिलो चरणमा नुवाकोटमा निर्माण शुरु भएको माथिल्लो त्रिशूली थ्री बी जलविद्युत् आयोजनाको अग्रिम शेयर बिक्री गर्ने तयारी गरेको छ । कूल ३७ मेगावाट क्षमताको उक्त आयोजनाको केही समय पहिले मात्रै ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले शिलान्याश गरिसक्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत् कार्यक्रकमको पहिलो शेयर आफूले खरीद गर्ने यसअघि नै सार्वजनिक गर्नुभएको छ । नागरिकबाट नै लगानी जुटाएर करीब तीन हजार ५०० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने घोषणा गरेको छ । त्यस्ता आयोजनाको स्वपूँजीमध्ये ४९ प्रतिशत रकम शेयरमार्फत उठाउने र अग्रिमरुपमा लिएको शेयर बराबरको रकमकोसमेत ब्याज दिने निर्णय गरेको छ ।

– रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *