सर्भेक्षण भन्छः सवै माेवार्इल सेवाकाे गुणस्तर मापदण्ड भन्दा न्यून
Investopaper, चैत्र ०१, २०७५
काठमाडौँ — एउटा मोबाइलबाट अर्को मोबाइलमा फोन गर्दा ५ सेकेन्डभित्र फोन लाग्नुपर्ने नियम छ । नेपालमा चलेका दुई सेवा प्रदायक नेपाल टेलिकम र एनसेल दुवैको नेटवर्कमा फोन गरेको ५ सेकेन्डमा फोन लाग्दैन । नेपाल दूरसञ्चार प्राधिकरणले यसलाई कल स्थापित हुने समय भनेको छ । प्राधिकरणले तयार पारेको दूरसञ्चार सेवाको गुणस्तरसम्बन्धी नियमावलीमा कल स्थापित हुने दर ५ सेकेन्ड वा सोभन्दा कम हुनुपर्ने प्रावधान छ ।
प्राधिकरणले पुस र माघ महिनामा भक्तपुरसहित पृथ्वी राजमार्ग, पोखरा र बागलुङ बजारमा गरेको ड्राइभ टेस्टको क्रममा नेपालका प्रमुख दुई सेवा प्रदायक टेलिकम र एनसेलसहित स्मार्ट टेलिकमको मोबाइलको गुणस्तर मापदण्डभन्दा कम पाइएको हो । प्रयोगकर्ताको संख्या र मापदण्डअनुसार दूरसञ्चार सेवा प्रदायकले पूर्वाधार विस्तार नगर्दा यो समस्या आएको हो ।
चलायमान सवारी साधनमा परीक्षण उपकरण जडान गरेर लगातार फोन कल गरी वा डाटा प्रयोग गरी मोबाइल सेवा प्रदायकको सेवा मानकको संकलन गरिएको प्राधिरकणले आफ्नो प्रतिवेदनमा सार्वजनिक गरेको छ ।
भक्तपुरमा गरिएको परीक्षणका क्रममा नेपाल टेलिकमको कल स्थापित हुने दर करिब साढे १२ सेकेन्ड देखिएको छ । एनसेलको करिब ८ सेकेन्ड र स्मार्ट टेलिकमको कल स्थापित हुन औसतमा करिब १६ सेकेन्ड लाग्ने गरेको देखिएको छ ।
प्राधिरकणले पिङ्ग गर्न लाग्ने समय २ सय ५० मिलिसेकेन्ड वा सोभन्दा कम हुनुपर्ने मापदण्ड तोकेको छ ।
भक्तपुरमा टेलिकमको डाटा प्रयोग गरी वेबसाइट लोड हुन सबैभन्दा कम समय लागेको भए पनि डाउनलोड डाटाको बहाव भने एनसेलको सबैभन्दा धेरै छ । अपलोड डाटाको बहाव भने स्मार्टको सबैभन्दा बढी देखिएको छ । स्मार्टमा अपलोड डाटाको बहाव सबैभन्दा धेरे अर्थात् करिब ११ एमबीपीएस देखिएको छ ।
पोखरामा गरिएको क्रममा पनि कल स्थापना हुन लाग्ने समय ५ सेकेन्डभन्दा बढी पाइएको छ । परीक्षणका क्रममा पोखरामा टेलिकमको नेटवर्कभित्र कल गर्न लाग्ने समय करिब १२ सेकेन्ड र एनसेलको नेटवर्कमा कल स्थापित हुन लाग्ने समय करिब १० सेकेन्ड छ । स्मार्टमा यो दर १३ प्रतिशत छ ।
पोखरामा तीनै सेवा प्रदायकले दिने इन्टरनेट सेवा भने भक्तपुरको तुलनामा गुणस्तरीय देखिएको छ ।
बागलुङमा पनि टेलिकम, एनसेल र स्मार्ट गरी तीनै सेवा प्रदायकको फोन स्थापित हुने दर मापदण्डभन्दा कमजोर छ । परीक्षणका क्रममा बागलुङमा टेलिकम र एनसेल दुवैको इन्टरनेट सेवा पनि मापदण्डभन्दा कमजोर भेटिएको छ ।
