प्रदेश ५ का दुई ठूला आयोजना, प्रधानमन्त्रीबाट आज शिलान्यास तथा उद्घाटन हुदैँ

बुटवल, ८ चैत-   प्रधानमन्त्री केपी शर्मा ओली जिल्लामा शुरु हुन गइरहेका दुई ठूला योजनाको प्रारम्भ गर्न आज रुपन्देही आउँदै हुनुहुन्छ । रुपन्देहीमा स्थापना हुने सरकारी मेडिकल कलेजको कार्यालय उद्घाटन र पूर्व–पश्चिम राजमार्गअन्तर्गत बुटवल–नारायणगढ खण्डको सडक स्तरोन्नति कार्यको शिलान्यासका लागि प्रधानमन्त्री ओली आज बिहान यहाँ आउन लाग्नुभएको हो ।

प्रधानमन्त्री ओलीबाट आज बिहान ११ बजे तिलोत्तमा नगरपालिका वडा नं १ स्थित नयाँ मिलमा मेडिकल कलेजको कार्यालयको उद्घाटन हुने कार्यक्रम रहेको कार्यालय प्रमुख मानबहादुर घिंमिरेले जानकारी दिनुभयो । 

यस्तै, आज नै प्रधानमन्त्री ओलीले बुटवल–नारायणगढ सडकखण्डको स्तरोन्नति गर्ने आयोजनाअन्तर्गत बुटवल उपमहानगरपालिका वडा नं ८ स्थित बुटवल मण्डप नजीकै अपरान्ह १२ः३० मा शिलान्यास गर्नुहुने कार्यक्रम रहेको छ । 

यी दुबै आयोजना जिल्लामा ल्याउन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव तथा पूर्व अर्थमन्त्री बिष्णु पौडेलको विशेष योगदान रहेको छ । रुपन्देही क्षेत्र नं ३ का सांसद पौडेल यसअघि अर्थमन्त्री हुँदा सरकारको नीति तथा कार्यक्रम र बजेट वक्तब्यमार्फत रुपन्देहीमा सरकारीस्तरको मेडिकल कलेज स्थापना गर्ने योजना अघि सार्नुभएको थियो । यस्तै, बुटवल–नारायणगढ सडकखण्ड पनि नेता पौडेलकै पहलमा स्तरोन्नतिको सम्भाव्यता अध्ययन भएको हो । 

प्रधानमन्त्रीले आज शिलान्यास गर्ने उक्त आयोजनाअन्तर्गत बुटवलदेखि नारायणगढसम्मको ११३ किलोमिटर सडकको स्तरोन्नति आगामी साढे तीन वर्षभित्र सम्पन्न गर्ने गरी काम अघि बढाइएको आयोजनाको पश्चिम खण्ड प्रमुख इन्जिनीयर सुरेश न्यौपानेले जानकारी दिनुभयो । उक्त सडक विस्तार भएपछि यात्रा दूरी अहिलेकोबाट झण्डै आधा घट्ने छ । बुटवलबाट नारायणगढसम्मको दूरी पार गर्न अहिले करीव तीन घण्टा लाग्छ । उक्त सडकको स्तरोन्नति भई चार लेन बनेपछि कम्तीमा १ घण्टा ३० देखि एक घण्टा ५० मिनेटभित्रै छिचोल्न सकिने छ ।

त्यसैगरि, हरेक प्रदेशमा एउटा सरकारी मेडिकल कलेज राख्ने सरकारको नीतिअनुसार तिलोत्तमामा प्रदेश ५ स्तरीय मेडिकल कलेज स्थापना हुन लागेको हो । तिलोत्तमा नगरपालिका वडा नं १ नयाँ मिलदेखि झण्डै ५०० मिटर पूर्व प्यारामाउन्ट चोकमा बुटवल मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजनाको कार्यालय स्थापना भएको छ ।

आयोजनाको उद्घाटन गर्न आफ्नो नगरमा आउनुहुने प्रधानमन्त्रीको स्वागतार्थ तिलोत्तमा नगरवासीले भव्य तयारी गरेका छन् । तिलोत्तमा नगरपालिकाले आयोजना कार्यालयसँग समन्वय गरेर तयारीका विभिन्न काम सम्पन्न गरेको नगर प्रमुख वासुदेव घिमिरेले बताउनुभयो ।

प्रस्तावित मेडिकल कलेजका लागि वडा नं १ र ८ को वन क्षेत्रअन्तर्गतको झण्डै २०० बिघा जमीनको स्वामित्व हस्तान्तरण भइसकेको छ । हाल मासिक ३५ हजार रुपैयाँ भाडा तिर्ने गरी स्थापना भएको कार्यालयमा आयोजना प्रमुखसहित उपसचिव, शाखा अधिकृत, इन्जिनीयर, लेखा अधिकृत, चालक र कार्यालय सहयोगीसहित सातजना कर्मचारीको दरबन्दी रहेको उपसचिव मानबहादुर घिमिरेले बताउनुभयो ।

  • रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *