यस पटककाे लगानी सम्मेलनमा पनि चिनियाँ लगानीकर्ताको बढी सहभागिता
काठमाडौँ — काठमाडौंमा आगामी साता हुने लगानी सम्मेलनमा चीनबाट सबैभन्दा बढी सहभागी हुने भएका छन् ।

लगानी बोर्ड कार्यालयका अनुसार सम्मेलनमा ३८ देशका ६ सय २० लगानीकर्ता सहभागी हुने निश्चित भएकामा चीनका २ सय ९ जना सरकारी अधिकारी तथा लगानीकर्ताले नाम टिपाएका छन् । त्यस्तै भारतबाट १ सय १० र नेपालका तर्फबाट ४९ जना सहभागी हुने निश्चित भएको छ ।
अघिल्लो पटकको सम्मेलनमा पनि चिनियाँकै उपस्थिति बढी थियो । २०७३ फागुन १९ र २० गते भएको सम्मेलनमा करिब १४ खर्ब रुपैयाँको लगानी प्रतिबद्धता आएको थियो । यसमध्ये चीनका लगानीकर्ताले मात्रै करिब साढे ८ खर्ब रुपैयाँको प्रतिबद्धता जनाएका थिए भने भारतले करिब ३१ अर्ब ७० करोड रुपैयाँ लगानी गर्ने भनेको थियो ।
हालसम्म प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) रकम नेपालमा भित्र्याइसक्नेमा भारत दोस्रो र चीन तेस्रो स्थानमा पर्छ । सबैभन्दा बढी रकम ‘ट्याक्स हेभन’ मुलुकहरूबाट भित्रिएको छ ।
राष्ट्र बैंकको अध्ययन प्रतिवेदनअनुसार हालसम्म १ खर्ब ३७ अर्ब ६७ करोड रुपैयाँ वैदेशिक लगानी भित्रिइसकेको छ । यसमध्ये २७ अर्ब २५ करोड भारतका लगानीकर्ताले नेपाल ल्याएका छन् । चिनियाँ लगानीकर्ताले १० अर्ब ८४ करोड रुपैयाँ भित्र्याएका छन् ।
बोर्डका प्रवक्ता यस पटकको सम्मेलन विगतको जस्तो नहुने बताउँछन् । ‘लगानी बोर्डले तयार पारेका आयोजनामा लगानी गर्न चासो देखाउनेमा चिनियाँ बढी छन्,’ उनले भने, ‘यस पटक उनीहरूले नै बढी प्रतिबद्धता जनाउने र लगानी गर्लान् भन्ने अनुमान गरेका छौं ।’
लगानीसँग सम्बन्धित कानुनको सुधार र गैरआवासीय नेपालीले लगानीका लागि प्रचारात्मक काम गरिरहेकाले यस पटक सकारात्मक सन्देश गएको उनले बताए । लगानीकर्ताका लागि साढे ३० खर्बका ६३ आयोजना तयार रहेको उनले बताए ।
गतसाता प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको लगानी बोर्ड बैठकले सरकारी ४६ र निजी क्षेत्रका १७ वटा आयोजना सम्मेलनमा प्रस्तुत गर्ने निर्णय गरिसकेको छ । ती आयोजनाबारे बृहत् जानकारी लिई लगानी आओस् भनेर सम्मेलनमा प्रस्तुत गरिने रिजालले बताए ।
दुई दिन चल्ने सम्मेलनका ९ वटा सत्रमा नेपाल र दातृ निकाय तथा निजी क्षेत्रका अधिकारीले लगानी सम्भावनाबारे छलफल गर्नेछन् । सम्मेलनमा ५० भन्दा बढी देशका कम्पनी तथा सरकारी अधिकारी सहभागी हुने बोर्डले जनाएको छ ।
सम्मेलनमा विश्व बैंकका उपाध्यक्ष हर्टविग हफर, पूर्वाधार निर्माण गर्ने कम्पनी मेनहार्ट्ड ग्रुपका कार्यकारी अध्यक्ष साहजाद नसिमस, म्यानमारका लगानी तथा विदेश अर्थ मामिलामन्त्री यु थान तुन, फ्रान्सका युरोप तथा विदेश मामिलामन्त्री जेन ब्याप्टिस्ट ल्यामोनले छलफलमा सहभागी हुने निश्चित गरिसकेका छन् ।
लगानी सम्भावनाबारे नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, महासंघका पूर्वअध्यक्ष सुरज वैद्य, पद्म ज्योति र प्रदीपकुमार श्रेष्ठ, नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्मा, गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष उपेन्द्र महतोले विभिन्न सत्रमा छलफल गर्ने कार्यक्रम तय भएको छ ।
माइक्रोसफ्टकी एसिया प्रशान्त प्रबन्ध निर्देशक सोनिया बासिर कविर, सुमिटोमोका महाप्रबन्धक महाहिरो मियासिटो र अमेजन इन्टरनेट सर्भिसका चन्द्र बलामीले पनि बोल्नेछन् । याे समाचार अाजकाे कान्तिपुरमा छ ।
