कविता : मातृभूमिको रक्षा
-- अनुष्मा ढुङ्गेल
हरपल हरक्षण मातृभूमिको प्रेम
मुटुभित्र सजाएर राखेकी छु,
यस भूमिमा असुरक्षाको कालो बादल
मडारिँदा म एक्लै रोएकी छु,
आक्रोशित छ यतिखेर मेरो नेपाल
अतिक्रमणविरुद्ध घन्किएका छन् नारा
हस्तक्षेप भएको छ मेरो देशमा।
नेपालको माटोमा रम्ने नेपाली
पुछिरहेका छन् आक्रोशका आँसु,
खुकुरीको धारमा खेल्ने गोर्खाली
रगतमा लत्पतिएको विगत सम्झेर
पुर्खाको वीरतायुक्त रगत
खेर जान नदिन
टाउकोमा कफन बाध्न छन् तयार।
एकीकरणले अखण्ड भूमि
परेको छ अतिक्रमणको चपेटामा,
प्राकृतिक सुन्दरताको चुली यो
संरक्षणको जोखिम मोलिरहेको छ।
उठौँ, जागौँ, वीरताको उदाहरण प्रस्तुत गरौं
मेचीदेखि महाकाली हाम्रै हो,
पश्चिमबाट घाम उदाउन नदिन
कहिल्यै कसैसँग नझुकेको
आत्मसम्मानको सगरमाथा झुक्न नदिन,
दासत्व स्वीकार नगरेको वीरताको गाथा
दुई ढुंगा बीचको तरूल भई
इज्जत कमाएको मेरो देश
नेपालीपन जगाई वीरताको गाथा
अनि मातृभूमिको रक्षार्थ जीवन उत्सर्ग गर्न
यस भूमिमा आफ्नो अस्तित्व खोज्न
हरहमेसा तयार।
आँखा नलगाऊ छिमेकी
हाम्रो स्वाभिमानमा धावा बोल्न दिन्नौं कदापी
सक्छौं भने वीरतासँग
सिँगौरी खेल्न आऊ
गोर्खालीको वीरताको परीक्षा हुनेछ फेरि
आफ्नो पुण्यभूमिको रक्षामा
नेपाली मन जागृत भैसकेको छ।
नेपाली एकता र बहादुरीकै बलमा
आफ्नो कलेजो तिमीहरूबाट
हाँसीहाँसी फिर्ता लिनेछौँ
हाम्रो वीरताको पहिचान दिनेछौँ फेरिफेरि।