कविता : गुरुभ्यो नम
— नारद गाैतम
छन्द : शार्दूल विक्रीडित
भाषाको ध्वनि कान पर्छ पहिले गर्छन् उनैले शुरु ।
आमाबाट सिकिन्छ बोल्न सबले माता सबैकी गुरु ।।
देखाईकन वस्तु नाम सबको भन्दै चिनाए उनै ।
आमादेखि बन्यौं प्रशिक्षित सबै हामी छुटेनौं कुनै ।।
आएमा घर मान्यवर्ग जननी भन्छन् नमस्ते गर ।
ढोग्ने रैछ भने भने नि त उनै लौ पाउमा नै पर ।।
के गर्दा गतिलो बनिन्छ मनले गुन्दै सिकाए सब ।
रोके गर्न र बोल्न हुन्न जति जे खिच्दै यथासम्भव ।।
को आफ्नो र पराइ को त कसरी के भन्न पर्ने भनी ।
राम्रो ज्ञान दिने सधै सकलका आमा त हुन् जो पनि ।।
आमाको मन ज्ञान बुद्धि र सधै वात्सल्य पाईकन ।
हाम्रो जीवन हुर्कियो अघि बढ्यो आमा त हुन् चन्दन ।।
शिक्षाको महिमा बुझेर पढ लौ भन्दै दिने प्रेरणा ।
टाठा बन्न सकून् नि सन्तति भनी यस्तो लिई धारणा ।।
सोंची जीवन चेतनासित बितोस् बाटो लगाई दिने ।
आफ्ना आदरणीय पूज्य गुरु नै आफ्नै पिता यो चिनें ।।
वेदव्यास पुराणलेखक बने सारा जगत्का गुरु ।
त्यस्तै शंकर कृष्ण हुन् सकलका यी ब्रह्माण्डका नै गुरु ।।
अज्ञानी कुहिरो सबै हृदयको फाल्ने निकाल्ने गुरु ।
यो सारा प्रकृति प्रपञ्च छ गुरु क्षत्रज्ञ आफ्ना गुरु ।।
भित्री चेतन जाग्न ज्ञान गहिरो चाहिन्छ यो खुल्दिन ।
विद्या पार्छ प्रदीप्त त्योबिनु यसै सक्दैन यो फुल्दिन ।।
त्यस्तो ज्ञान दिई भविष्य सबको पार्ने सधै सुन्दर ।
यस्ता यी गुरुमा प्रणाम मनले गर्दै सधै आदर ।।
२०७६/३/३१ (गुरुपूर्णिमा)