कविता : सपनामा भावी सन्तती मुस्कुराएको देख्न पाउँ
— केपी शर्मा ओली
इच्छुमतिको किनार, घुमेर भिराडील
घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल
कतै इतिहास, कतै परम्परा गौरव र पौरख
यहीँका डाँडाहरूका सतीदेवी काँधमा बोकेर
शोकमग्न शिवजी भौतारिएका थिए
यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले
चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए
यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर
सुन्दर काठमाडौँलाई नियालेका थिए
देवकोटाले मानवताको बिगुल पुगेका थिए….
यही ठाउँमा अहिले फालिएको भिरलाई
गन्तव्य बनाएका छन् पौरखीहरुले
परिवर्तनशील दुनियाँमा सधैँ बाँचेको को छ र !
बाँचुन्जेल हो जिन्दगी मर्नु त छँदै छ ।
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ
सगरमाथा, लुम्बिनी, मेची, महाकाली
हाम्रा लहलह खेत, बारी, झपक्क कान्ला र आली
सपनामा भए पनि देख्न पाउँ
चन्द्रागिरिको डाँडामा आएर सपनामा
भावी सन्तति मुस्कुराएको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बिर खिच्न पाउँ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।
(चन्द्रागिरि नगरपालिका–१५को सहयोगमा चन्द्रागिरि हिल्समा आयोजना गरेको ‘भिराडील–चन्द्रागिरि जेसुम उत्सव’ कार्यक्रम तथा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०७५ असार ३१ मा चन्द्रागिरिमै आयोजना गरेको ‘हिमवत्खण्ड कला साहित्य महोत्सवका अवसरमा कार्यक्रमस्थलमै रचना गरिएकाे केपी शर्मा ओलीकाे कविता)