कविता – वसन्त
— शान्ति सिग्देल
छन्दः- पञ्चचामर
वसन्तको प्रभातमा छ चिर्रबिर्र चाँचरी
फुरुर्र फुर्र नाच्दछन् चुसेर फूल मञ्जरी
पहाड शैल फाँटमा छ मन्द फूल बासना
वसन्त मिर्मिरे चुमी म गर्छु नित्य अर्चना।
(१)
हिमाल शैल कन्दरा गुराँस फूल कोमल
वसन्तको बहारमा मयूर चाल ढल्पल
प्रसन्न छन् युवाहरू र वृद्ध बाल कोपिला
सुनेर गान कोइली निमग्न हुन्छ यो दिल।
(२)
हिँडे किसान फाँटमा गरा धरा सजाउन
छरेर एक बीजले मुरी मुरी फलाउन
बतास चल्छ सिर्सिरे लता र फूल फर्फर
वसन्त भित्रँदा अहा१ मुसुक्क बाग सुन्दर।
(३)
सुटुक्क घाँसमा लुकी सुलुक्क निल्छ काफल
छ नाच गानमा चरी बजेर मेघ मादल
पवित्र लाग्छ यो धरा वसन्त मग्न देख्छु म
वसन्त बागमा बसी उमङ्ग भाव पोख्छु म।
(४)
हटेर स्वार्थका धुवाँ सफा बनेर हृद्कुना
वसन्त बागझैँ खुलोस् सदैव चेतना मुना
उडूँ म स्वच्छ व्योममा चुमेर कर्म टाकुरा
जताततै झुलून् सधैँ सुकर्म सौम्य आँकुरा।
(५)
२०७९/१/१०