कविता : “विलाप”
कवि : हृदय लेकाली
छन्द :- शार्दूलविक्रीडित छन्द
मेरा लागि भयो अपाङ्ग दुनियाँ बाबा बितेको दिन
मेरै लागि भयो अनर्थ दुनियाँ आमा खसेको दिन
यो संसार थियो सधैँ सुखमयी बाबा र आमा छँदा
कालो शून्य म देख्छु आज दुनियाँ तिम्रो अभावै हुँदा ।
बाबाको ममता र साथ सजिलै हे दैव खोस्यौ किन
आमाको ममतामयी ढुकढुकी त्यो काख खोस्यौ किन
लाग्ला घाम र जून यो जगतमा के ताप्नु तातो अब
धर्ती यो रहला सधैँ अटल नै के देख्छु नौलो सब ।
भो चाहिन्न कुनै खुसी र रमिता बाबा र आमाविना
यो नाथे टुहुरो छ जीवन सधैँ बाबा र आमाविना
दन्काएँ बबुरो चिता नि सजिलै के देख्न बाँकी छ र
बिन्ती लाख सुनेर दैब कसरी भागिस् नि धेरै पर।
धेरै याद चिनो थपेर मनमा लाग्यौ नि अस्ताचल
बर्सायौ गहबाट आँसु धमिलो छाडेर जाने पल
हे आमा जननी पिता हजुरको अल्पायु पाएँ वय
यो आफ्नो रचना भुलेर कसरी थाल्यौ नि जाने तय ।
चाँडै यो दुनियाँ गयौ नि कसरी छाडेर टाढा तिमी
गाह्रो भो सजिलै भुलूँ म कसरी बाबा र आमा तिमी
तिम्रो त्यो अनुहार घुम्छ दिलमा बैकुण्ठ पुग्दा पनि
आत्माले अमरत्व शान्ति मनमा छावस् सधैँ जीवनी।
आशीर्वाद मिलोस् सधैँ हजुरको सौभाग्यशाली हुने
गर्ने काम सबै मिलोस् सफलता आशा भरोसा छुने
मेरा लागि अनेक कष्ट सहजै झेल्यौ तिमीले सब
अस्तायौ कसरी कतै भुवनमा गाह्रो छ भेट्नै अब ।
