कविता : अवकाशप्राप्त समय

— कालीप्रसाद रिजाल

कुनैबेला अरवी घोडाजस्तै
फर्दवाल दौड्ने समय
अहिले आएर
चिप्लेकीराजस्तै
घिस्रिरहेछ !

के भएको होला
यो घामलाई पनि?
हिँड्दा हिँड्दै कहिले
कुनै रुखमा अड्किदिन्छ
त्यहाँबाट निस्कियो भने
फेरि मुण्डाघरमा गएर
घण्टौं बसिदिन्छ
के भएको होला
यो घामलाई पनि
कहिले गुटुमुटु बादल ओढेर सुतिदिन्छ
कहिले पहाडको कापमा गएर
लुकिदिन्छ !

ओल्टाइ पल्टाई अद्योपान्त
पत्रपत्रिका पढ्छु
उपन्यासलाई कुनै पानामा दोब्य्राउँछु
फेरि पढ्छु फेरि पढ्छु
लुगामा इस्त्री लगाउँछु
जुत्ता पालिस गरेर टल्काउँछु
बिग्रिएकाे हिटर खोलेर बनाउँछु
बगैंचामा जान्छु
झार उखेल्छु, माटो सम्याउँछु
गुलाफको हाँगा काटेर मिलाउँछु
फेरि बारीको तीनचार फन्का लगाउँछु
तर यतिविधि काम गरिसक्दा पनि
समय एक बित्ता हिँडेको हुँदैन !

आँङ तानेर हाऽऽई गर्दै
फोन घुमाउँछु
बसि बिँयालो केही बेर
बकम्फुस गफमा
आफूलाई अल्मलाउँछु
फेरि बाहिर निस्केर
केही किनेर ल्याउँछु
बाटामा रमिता हेरेर
केही क्षण टोलाउँछु
क्रिकेट खेलिरहेका फुच्चेहरूलाई
एकछिन जिस्काउँछु।

फर्केर काम गर्नेसित कुनै कुरामा
जङ्गिन्छु, फत्फताउँछु
आँगनमा पटुसित बातमार्छु
सुसेलीमा सिकाउँछु,
फेरि कोठामा आएर
लमतन्न पल्टन्छु
तर यतिकासरो काम गरिसक्दा पनि
यत्रा चक्कर लगाएर आउँदा पनि
असत्ति समय साले समय
जहीँको तहीँ टिक्टिक् गरिरहेको हुन्छ !!

यस्तो त कहिले थिएन
सधैँ भ्याइनभ्याइ हुन्थ्यो
मिलिक्क गर्न नपाई
समयले डाँडा काटिसक्थ्यो
के भएको होला
यो समयलाई हिजो आज ?
नातिनातिनाले पठाएको चिठी
बीसौं पटक पढिसकेँ
अलबमका तसबिर पनि कैयौंपल्ट हेरिसकें
पुराना क्यासेटका गीतहरू
दोहोर्या्एर तेहेर्यारएर सुनिसकें
तै पनि ढिट समय यस्तो छ
कि कट्दै कट्दैन !!

ए युवाहरू हो !
जाँचका तयारी गरिरहेका
विद्यार्थीहरू हो !
तिमीलाई समयको अभाव छ भने
आउ लिएर जाउ
जति चाहिन्छ लिएर जाउ
म सित्नैमा मेरो समय
दिन तयार छु !!

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *