बाढीले बन्द भएको कालीगण्डकी ‘ए’ बाट विद्युत् उत्पादन शुरु गर्ने तयारी
इन्भेष्टाेपेपर । आश्विन १२, २०८३
काठमाण्डौ । कालीगण्डकी नदीमा पानीको बहाव घट्दै गएपछि स्याङ्जाको बेल्टारीमा कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाले आजदेखि विद्युत् उत्पादन पुनः सञ्चालन गर्ने तयारी गरेको छ ।
चार दिनदेखि लगातार परेको वर्षाका कारण कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि जोखिम हुन नदिन आयोजनाबाट विद्युत् उत्पादन बन्द गरिएको थियो ।
अहिले नदीको जलसतह घट्दै गएपछि आयोजनाले बाढीपछिको अवस्थाको निरीक्षण गरी उत्पादन पुनः सञ्चालन गर्न लागेको हो ।
कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रका प्रमुख आत्मेस पौडेलका अनुसार प्राविधिक टोलीले बाढीपछिको अवस्थाबारे निरीक्षण गरिसकेको छ । उहाँका अनुसार कालीगण्डकी नदीमा पानीको बहाव अत्यधिक बढेपछि जोखिम हुन नदिन उत्पादन बन्द गरिएको थियो ।
बाढीका बेला मिर्मीमा रहेको आयोजनाको बाँधका सबै ढोका खोल्दै पानी नदीमा फालिएको थियो । कालीगण्डकी ‘ए’ जलविद्युत् आयोजनाबाट १४४ मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ ।
