एलपि ग्यासको मूल्य बृद्धी, पेट्रोल, डिजेल र मट्टीतेलको मूल्यमा कमि
माघ २०, २०७६ | Investopaper
काठमाडौँ । नेपाल आयल निगमले एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य बढेको भन्दै निगमले आज राति १२ बजेदेखि लागू हुने गरी ग्यासमा प्रतिसिलिन्डर रु २५ ले वृद्धि गरेको हो । यससँगै ग्यासको मूल्य प्रतिसिलिन्डर रु एक हजार ३७५ पुगेको छ ।
यसैगरी निगमले पेट्रोल, डिजेल तथा मट्टीतेलको मूल्यमा प्रतिलिटर रु १ घटाएको छ । समायोजनसँगै पेट्रोलको मूल्य प्रतिलिटर रु १०९ तथा डिजेल र मट्टितेलको मूल्य प्रतितलिटर रु ९९ कायम गरिएको निगमले जनाएको छ ।
निगमले हवाई इन्धनको मूल्य भने यथावत नै राखेको छ । पेट्रोलियम पदार्थको खरिद मूल्य केही घटेर आएकाले मूल्य समायोजन गरिएको निगमका प्रवक्ता वीरेन्द्रकुमार गोइतले जानकारी दिनुभयो ।
मूल्य समायोजन पश्चात भारतमा भन्दा नेपालमा इन्धन मूल्य सस्तो रहेकाे नेपाल आयल निगमकाे विज्ञप्तीमा उल्लेख गरिएकाे छ । वीरगन्ज नाकामा इन्धनको मूल्य भारतको रक्सौलमा कायम पेट्रोलको बिक्री मूल्यभन्दा प्रतिलिटर १६ रुपैयाँ ४० पैसा र डिजलको मूल्य प्रतिलिटर १६ रुपैयाँ २७ पैसा सस्तो रहेको छ ।
