तीन हजार कि.मि.पारगर्दै रूसी ग्यास पाइपलाइन चीन पुग्यो, पुटिन र सीद्वारा उद्घाटन

मंसिर १७, २०७६

मस्को। रुस र चीनबीच सोमबार पहिलो पटक ग्यास पाइपलाइनको सुरुवात गरिएको छ। विश्वकै मुख्य ग्यास वितरक देशमा पर्ने रुसले चीनसँग ग्यास पाइपलाइन जोड्नुलाई ऐतिहासिक घटनाका रूपमा लिइएको छ।

रूसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङ्ले टेलिभिजनबाट प्रसारण भइरहेको समारोहमा सोमबार ग्यास पाइपलाइनको उद्घाटन गरे।  दुई देशका बीचमा ग्यास पाइपलाइन सञ्चालन हुनुलाई आपसी सहकार्यको नयाँ कदमका रूपमा व्याख्या गरिएको छ । “आज एउटा ऐतिहासिक काम भएको छ, यो विश्वको उर्जा बजारका लागि मात्रै नभई तपाई हाम्रा लागि पनि पहिलो पटक महत्वपूर्ण कदम भएको छ,” पुटिनले भने।  

चिनियाँ राष्ट्रपति सीले भने यस कार्यलाई आपसी सहकार्यको नयाँ नमुनाका रूपमा लिएको बताए। यसले दुई देशको सम्वन्धलाई थप उचाइमा पुर्याउने विश्वास व्यक्त गरे । कार्यक्रममा दिइएको जानकारी अनुसार दुर्गम क्षेत्रमा पर्ने पूर्वी रूसदेखि चीनको सिमा क्षेत्रमा पर्ने ब्लागोभेशचेन्सकसम्म जोड्नेगरी ग्यास पाइपलाइन जोडिएको छ।

सो पाइपलाइन तीन हजार किलोमिटर लामो रहेको जनाइएको छ। यसलाई राष्ट्रपति पुटिनले संसारकै सबैभन्दा ठूलो निर्माण परियोजनाको संज्ञा दिए। सो पाइपलाइनबाट सन् २०२५ देखि मात्रै पूर्ण क्षमतासहित ग्यास निर्यात गर्न सकिने भएको छ। पूर्ण क्षमतासहित सञ्चालन हुँदा सो पाइपलाइनबाट प्रति बर्ष ३८ अर्ब क्युविक मिटर ग्यास निर्यात गर्न सकिने अधिकारीहरूले जनाएका छन्। यो निर्माण गर्न रूस र चीनले सन् २०१४ मा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए।

तीस बर्षे यो ४०० अर्ब अमेरिकी डलर लाग्ने परियोजनालाई महत्वाकांक्षी परियोजना मानिएको थियो। पाइपलाइन निर्माण गर्ने क्षेत्रमा दलदल, डाँडाकाँडा र ढुङग्यान भूभाग रहेको र गाह्रो खालको वातावरणीय अवस्था रहेको जनाइएको छ। पाइपलाइन अन्तर्गत पर्ने याकुतिया क्षेत्रमा माइनस ६० डिग्री सेल्सीयस र रूसको सुदुर पूर्वी अमुर क्षेत्रमा माईनस ४० डिग्री सेल्सीयस तापक्रम हुने गरेको अधिकारीहरूले जनाएका छन्।

— रासस/एएफपी

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *