अमेरिकी प्रवेशाज्ञा पाउन नयाँ नियम, सामाजिक सञ्जालका विवरणहरू बुझाउनुपर्ने

Investopaper,  जेष्ठ १९, २०७६

अमेरिकी विदेश मन्त्रालयको नियमानुसार मानिसहरूले सामाजिक सञ्जालमा भएका नाम र पाँच वर्षदेखि प्रयोग गरेका ईमेल ठेगाना एवम् फोन नम्बर बुझाउनुपर्नेछ।

गत वर्ष त्यस्तो प्रस्ताव गरिएका बेला अधिकारीहरूले त्यसबाट बर्सेनि एक करोड ४७ लाख मानिस प्रभावित हुन सक्ने अनुमान गरेका थिए।

अमेरिकाका लागि भिसा अर्थात्‌ प्रवेशाज्ञा पाउन आवेदन दिने लगभग सबैले नयाँ नियमानुसार अब सामाजिक सञ्जालसम्बन्धी आफ्ना विवरणहरू बुझाउनुपर्ने हुन्छ।

निश्चित कूटनीतिज्ञ र अधिकारीहरूले भने यो कडा नियमबाट उन्मुक्ति पाउनेछन्। यद्यपि अमेरिकामा काम गर्न वा अध्ययन गर्न जानेहरूले चाहिँ ती विवरणहरू बुझाउनुपर्ने हुन्छ।

“अमेरिकामा वैध भ्रमणका लागि सघाइरहँदा हामीले अमेरिकी नागरिकको रक्षाका निम्ति हाम्रा जाँच गर्ने प्रक्रियालाई सुदृढ बनाउने संयन्त्र पत्ता लगाउने दिशामा हामी निरन्तर काम गरिरहेका छौँ,” विदेश मन्त्रालयले भनेको छ।

यसअघि आतङ्कवादी समूहहरू भएका ठाउँबाट जाने मानिसहरूले थप जाँचबुझका लागि त्यस्ता विवरण बुझाउनुपर्थ्यो। तर अब आवेदकहरूले एउटा सूचीमा समेटिएका सामाजिक सञ्जालमा रहेका खाताका नामहरू दिनुपर्ने हुन्छ।

साथै सूचीमा नसमेटिएका अरू ठाउँमा रहेका खाताबारे पनि स्वेच्छिक रूपमा जानकारी गराउनुपर्ने हुन्छ। द हिलसँग कुरा गर्दै एक अधिकारीले बताएअनुसार सामाजिक सञ्जालको प्रयोगबारे गलत जानकारी दिनेहरूले “आप्रवासनसम्बन्धी गम्भीर परिणाम” भोग्नुपर्ने हुन्छ।

ट्रम्प प्रशासनले सन् २०१८ को मार्चमा पहिलो पटक त्यस्ता नीतिबारे प्रस्ताव गरेको थियो।

नागरिक अधिकारसम्बन्धी द अमेरिकन सिभिल लिबर्टिज युनियनले “सामाजिक सञ्जालसम्बन्धी यस्ता पर्यवेक्षण प्रभावकारी वा निष्पक्ष भएको कुनै प्रमाण नदेखिएको” जनाएको छ। त्यस्तो नीतिले अन्लाइनमा मानिसहरूलाई आत्मानुशासित गराउने सो समूहको भनाइ छ।

सन् २०१६ को राष्ट्रपतीय निर्वाचन प्रचार अभियानको एउटा प्रमुख मुद्दामा डोनल्ड ट्रम्पले आप्रवासनमाथि कडाइ गर्ने बताएका थिए।

  • विविसी नेपाली सेवाबाट
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *