महिलाले कसरी स्वस्थ रहने ? विशेषज्ञका अमूल्य सुझाबहरू

इन्भेष्टाेपेपर । असाैज २५, २०७७

महिला तथा प्रसूति विशेषज्ञ एवं ‘भी फर भजाइना’ पुस्तककी सहलेखिका डा. एलिसा ड्वेकले आफ्नो स्वास्थ्यको हेरविचार गर्न महिलाका लागि यस्ता सुझाव दिएकी छन्ः

तनाव निर्मूल पार्नुहोस्ः

अधिकांश महिला अनावश्यक रुपमा तनाव लिइरहेका हुन्छन्। तनावले प्रजनन् क्षमतादेखि डिप्रेसन, ‘एन्जाइटी’ र मुटुसम्बन्धी रोगको जोखिम बढ्छ। त्यसैले सकेसम्म तनाव लिनु हुँदैन। तनावरहित हुन हरदम कोसिस गर्नुपर्छ। तपाईंले लिएको तनावले तपाईंको काम बन्दैन बरु स्वास्थ्य बिगार्छ। आफूलाई तनाव नहुने उपाय खोज्ने र निरन्तर अवलम्बन गर्ने गर्नुहोस्।

स्वस्थकर खानपिनः स्वस्थकर भोजनको अर्थ घरिघरि एक ग्लास वाइन, एक टुक्रा चकलेट वा केकको एक टुक्रा खानु होइन, बरु भोजनमा संयम र सुधार ल्याउनु हो। थोरै प्रोटिनयुक्त, स्वस्थ्यकर फ्याटयुक्त, कार्बोहाइड्रेट र फाइबर मिश्रित भोजन गर्नु उपयुक्त हुन्छ।

 क्याल्सियम बढी मात्रा नलिनेः

शरीरमा धेरै मात्रामा क्याल्सियम भए मिर्गौलामा पत्थरी हुने सम्भावना हुन्छ। साथै, मुटसम्बन्धी रोगको जोखिम पनि बढ्छ। तपाईं ५० वर्षमुनि हुनुहुन्छ भने दैनिक एक हजार मिलिग्राम र ५० वर्षमाथि भए एक हजार दुई सय मिलिग्राम क्याल्सियम भए पुग्छ। यो क्याल्सियम पनि खासगरी भोजनबाट प्राप्त गर्नु उपयुक्त हुन्छ। जस्तो कि क्याल्सियमयुक्त खानेकुरा– दुध, साल्मन माछा, हाडे बदाम आदि खानुपर्छ।

 पर्याप्त व्यायाम गर्नुहोस्ः

महिलालाई मुटु बलियो पार्न र रोगप्रतिरोध क्षमता बढाउन ‘वेट बियरिङ एक्सरसाइज’ (शरीरको वजन वहन क्षमता बढाउने व्यायाम) सातामा पाँच दिन गर्नुपर्छ। जस्तै– नृत्य, जगिङ, कम्तिमा ३० मिनेट हिँड्नु, पौडी खेल्नु आदि। व्यायामले ‘ओस्टोपोरोसिस’जस्ता हाडसम्बन्धी रोग, मुटुसम्बन्धी रोग, क्यान्सर मधुमेहजस्ता रोगबाट जोगिन सघाउँछ। व्यायामले महिलामा आत्मविश्वास बढाउनुका साथै आफूप्रतिको धारणा पनि सकारात्मक बनाउने हुनाले मानसिक स्वास्थ्य सबल हुन्छ।

 प्रजनन् बारे बेलैमा विचार गर्नुहोस्ः

३० वर्ष हाराहारीका अधिकांश महिलालाई गर्भवती हुँदा खासै समस्या आउँदैन। तर, सामान्यतया ३२ वर्षको उमेरपछि महिलाको प्रजनन् क्षमता घट्न थाल्छ। त्यसैले आफ्नो करियर बनाउन सन्तान ढिलो जन्माउने सम्बन्धमा चिकित्सकसँग परामर्श गर्नु उपयुक्त हुन्छ। (अहिले विदेशमा महिलाको ‘अन्डा’ वा विवाहित भए ‘भ्रुण’ नै पनि फ्रिज गर्ने प्रविधि आइसकेको छ, तर महँगो छ।)

गर्भ निरोधक प्रयोगः

गर्भ निरोधकको प्रयोगले गर्भवती हुनबाट मात्र सुरक्षा दिँदैन, यससम्बन्धी भएका अध्ययनले पाठेघर र ओभ्यारियन क्यान्सरको जोखिम घटाउनुका साथै महिनावारी समेत नियमित गर्ने देखाएका छन्।

 बर्सेनि स्वास्थ्य परीक्षण गराउनुहोस्ः

२१ वर्ष पुगेका महिलाले ३–३ वर्षमा पाठेघरको मुख (सर्भाइकल) को क्यान्सर’ परीक्षण ‘प्याप स्मेयर टेस्ट’ गराउनुपर्छ। ३०–६५ वर्ष उमेर समूहका महिलाले ५–५ वर्षमा प्याप स्मेयर टेस्टसँगै ‘एचभिपी’ टेस्ट गर्नुपर्छ। ६५ वर्षभन्दा माथिका महिलाले भने चिकित्सकले क्यान्सरको सम्भावना न्यून बताए टेस्ट गरिरहनुपर्दैन। तर, सक्रिय यौनजीवन बिताइरहेका महिलाले भने गनोरिया, भिरिंगीजस्ता सरुवा रोगको बर्सेनि परीक्षण गराउनुपर्छ भने एचआइभीको पनि परीक्षण गराउनुपर्छ।

 स्वस्थ यौन सम्पर्कः

स्वस्थ यौन सम्पर्कले तनाव घटाउँछ भने दीर्घ (क्रोनिक) रोगको जोखिम पनि न्यून पार्छ। तर, यौनबाट आनन्द आउन छोड्यो भने त्यसले थप तनाव दिन्छ। यौन सम्पर्कमा सुख्खापन वा पीडा हुन थाले चिकित्सकसँग परामर्श लिनुपर्छ।

 पर्याप्त सुत्नुहोस्ः

व्यक्तिअनुसार कति घन्टा सुत्ने समय फरक फरक हुन सक्छ। तर, बिहान ओछ्यानबाट उठ्न अल्छि लाग्ने, छिटै थाक्ने, एकाग्र हुन कठिन हुने, ब्युझिँन कठिन हुने जस्ता कुराले तपाईं पर्याप्त सुत्नुभएको छैन भन्ने दर्शाउँछ। हालै भएका अध्ययनले निद्रा नपुग्दा मुटुसम्बन्धी रोग र मानसिक रोगको जोखिम उच्च हुने देखाएका छन्। त्यसैले शरीरलाई आराम पुग्नेगरी पर्याप्त सुत्नुपर्छ।

 जेनेटिक परीक्षणः

स्तन क्यान्सर,‘ओभ्यारियन क्यान्सर’ र विभिन्न दीर्घरोगको जोखिमको मात्रा थाहा पाउन र रोकथाम गर्न हिजोआज ‘जेनेटिक’ परीक्षण गर्न सकिन्छ। चिकित्सकहरूले महिलामा यस्ता रोगको जोखिम थाहा पाउन जेनेटिक परीक्षणको सहायता लिन थालेका छन्। त्यसैले चिकित्सकसँग परामर्श गरी जेनेटिक परीक्षण गरी यस्ता रोगबाट बेलैमा जोगिने उपाय गर्न सक्नुहुन्छ।

— एजेन्सिकाे सहयाेगमा

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *