श्रीलङ्काले पाँच दिनसम्म वित्तीय बजार बन्द गर्ने घोषणा

न्भेष्टाेपेपर । असार १२, २०८०

कोलम्बो ।  श्रीलङ्काको सरकारले ५१ अर्ब अमेरिकी डलरभन्दा बढीको आन्तरिक ऋणको पुनर्संरचना गर्ने विवादास्पद कदम चाल्नुअघि श्रीलङ्काका अधिकारीहरूले बिहीबारदेखि पाँच दिनका लागि वित्तीय बजार बन्द गर्ने घोषणा गरेका छन् ।

श्रीलङ्काले गत वर्षको अप्रिलमा आर्थिक सङ्कट घोषणा गर्दै आफ्नो विदेशी ऋणका लागि सम्झौता गरेको कानुनी दायित्व पुरा गर्न नसकेपछि मार्चमा सहमति भएको आईएमएफको ‘बेलआउट प्याकेज’को अनुरूप पुनर्संरचनाले सरकारी ऋणपत्रलाई असर गरेको छ ।

एक संसदीय अधिकारीका अनुसार ऋण पुनर्संरचना योजनालाई अनुमोदन गर्न यसै हप्ताको अन्त्यमा विधायिकाको विशेष अधिवेशन बोलाउने विषयमा छलफल गर्न सांसदहरूको मङ्गलबार बैठक बस्ने अपेक्षा गरिएको छ ।

केन्द्रीय बैङ्कका गभर्नर नन्दलाल वीरासिंघेका अनुसार अधिकारीहरूले बिहीबार र सोमबार पर्न गएको पर्व बिदाको अतिरिक्त शुक्रबार बिदा दिन आदेश दिएका छन् ।

उहाँले स्थानीय टेलिभिजन नेटवर्कसँग भन्नुभयो,“ऋण पुनर्संरचनाको बारेमा संसद्मा छलफल भइरहेको बेला बजार खुला रहनु अस्वस्थकर हुनेछ ।”

उहाँले भन्नुभयो, “संवेदनशील ऋण पुनर्संरचनाको बारेमा छलफल हुँदा बजारले काम गर्नु हुँदैन । हामी आशा गर्छौँ कि यो पाँच दिनभित्र पुनर्संरचना प्रक्रिया पूरा हुनेछ ।”

“यो निर्णयले व्यक्तिको निक्षेपमा कुनै असर पर्ने छैन, तर वाणिज्य बैङ्क र पेन्सन फण्डको ट्रेजरी बिल र ऋणपत्रको पुनर्संरचना गर्ने सरकारको योजना छ,” उहाँले भन्नुभयो ।

चार वर्षे २.९ अर्ब अमेरिकी डलरको आईएमएफ उद्धार प्याकेजलाई निरन्तरता दिन सरकारले आफ्ना विदेशी ऋणदाताहरूसँग बाह्य ऋणको पुनर्संरचनाका लागि वार्ता गरिरहेको छ ।

सरकारले गत अगस्टसम्ममा वैदेशिक ऋण पुनर्संरचनाको अपेक्षा गरेको थियो, तर देशको मुख्य द्विपक्षीय ऋणदाता चीनले सुरुमा कटौती गर्न अनिच्छुक भएको र यसको सट्टा पुरानो ऋण तिर्न थप कर्जा प्रस्ताव गरेको थियो ।

कुल वैदेशिक ऋणको १४ अर्ब डलरभन्दा बढी विदेशी सरकारहरूको द्विपक्षीय ऋण छ भने यसको ५२ प्रतिशत चीनलाई तिर्नुपर्छ ।

आईएमएफको सर्तअनुसार सरकारले आफ्नो खातालाई सन्तुलित बनाउन र टापु राष्ट्रको सबैभन्दा खराब आर्थिक सङ्कटबाट बाहिर निस्कनका लागि आफ्नो आन्तरिक र विदेशी ऋण सेवालाई आधाभन्दा बढी घटाउनुपर्छ ।

गत वर्षको सुरुमा अत्यावश्यक वस्तुको आयातका लागि समेत भुक्तानी गर्न विदेशी मुद्राको अभाव भएको थियो जसका कारण खाद्यान्न, इन्धन र औषधिको नसोचिएको (अकल्पनीय) अभाव भएको थियो ।

अर्थव्यवस्थाको कुव्यवस्थापनको विरोधमा महिनौँसम्म चलेको विरोध प्रदर्शनका कारण जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षलाई अपदस्थ गरिएको थियो ।

राजापाक्षका उत्तराधिकारी, छ पटक प्रधानमन्त्री बनेका रनिल विक्रमासिङ्घेले अर्थतन्त्रलाई स्थिर बनाउन प्रदर्शनमाथि कडा कदम चाल्नुभएको छ, मूल्य वृद्धि गर्नुभएको छ, अनुदान खारेज गर्नुभएको छ र कर दोब्बर पार्नुभएको छ ।

यसै महिनाको सुरुमा आईएमएफले श्रीलङ्काको अर्थतन्त्रमा ‘सुधारका अस्थायी सङ्केतहरू’ देखापरेको तर सुधार चुनौतीपूर्ण रहेको र कोलम्बोले पीडादायी सुधारहरू अघि बढाउनुपर्ने बताएको थियो । (रासस/एएफपी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *