सर्वेक्षणको नतिजा सार्वजनिक, नेपालमा ४२९ बाघ

इन्भेष्टाेपेपर ।  साउन १३, २०८३

काठमाडौँ ।  नेपालमा बाघको संख्या बढेको छ । यस वर्ष गरेको बाघ सर्वेक्षणमा बाघको संख्या ४२९ पुगेको सरकारले बुधबार घोषणा गरेको छ । 

विश्व बाघ दिवसको अवसर पारेर आयोजना गरिएको एक विशेष कार्यक्रममा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले बुधबार सो तथ्याङ्क सार्वजनिक गर्नुभएको हो । 

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले ६ महिनाको समयावधि लगाएर बाघ पाइने पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा पाइने बाघको संख्याको सर्वेक्षण गरेको थियो । नेपालमा बाघ तराई भूपरिधिको पर्सादेखि शुक्लाफाँटासम्म बाघ पाइने गरेको छ । 

यो वर्ष बाघको संख्या बढेको छ । सन् २०२२ को बाघ सर्वेक्षणमा नेपालभरी बाघको संख्या ३५५ थियो । यस पटक विगतभन्दा विगत चार वर्ष यता बाघको संख्या ७४ ले बढेको हो । 

पछिल्लो चार वर्षमा ७४ बाघ थपिएको भए पनि बर्दिया राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा भने अघिल्लो चार वर्षभन्दा यस पटक बाघको संख्या घटेको  छ । सन् २०२२ को सर्वेक्षणमा बर्दियामा बाघको संख्या १२५ थियो भने यस पटक ११२ वटा बाघ रेकर्ड गरिएका छन् । 

बुधबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार चितवन राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा १४५, बाँके राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा ५१, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासको क्षेत्रमा ५०, पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रमा ७१ वटा बाघ रेकर्ड गरिएका छन् ।

अघिल्लो बाघ सर्वेक्षणमा सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा १२८ वटा रेकर्ड गरिएका थिए । त्यसैगरी बर्दिया राष्ट्रिय निकुञ्जमा १२५ वटा, पर्सामा ४१, बाँकेका २५, शुक्लाफाँटामा ३६ वटा बाघ रेकर्ड गरिएका थिए ।

बाघको संख्या बढेको दर हेर्दा सबैभन्दा बढी पर्सा राष्ट्रिय निकुञ्जमा देखिन्छ । यस पटकको सर्वेक्षणमा पर्सामा ३० वटा, बाँकेमा २६ वटा बाघ बढेको छन् । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १७, शुक्लाफाँटा र आसपासको क्षेत्रमा १४ वटा बाघ छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा भने बाघको संख्या १३ वटाले घटेको तथ्याङ्क सार्वजनिक गरिएको छ । 

बाघको संख्या आहार प्रजाति, बासस्थान र चोरी शिकार नियन्त्रणमा आधारित हुने गर्छ । यस पटकको गणनामा बाघको वृद्धिदर भने ऋणात्मक रहेको छ । सन् २०१८ भन्दा २०२२ मा झण्डैं ५१ प्रतिशतले बढेको बाघको वृद्धिदर यस पटकको गणनामा जम्मा २१ प्रतिशत मात्र रहेको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित गरिएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *