लगानीमैत्री वातावरण बने कोरियाबाट प्रविधि र लगानी ल्याउन सकिन्छ : कोरियाली पूर्वमन्त्री

न्भेष्टाेपेपर ।  चैत्र २७, २०७९

काठमाडौं । नेपाल भ्रमणमा रहेका दक्षिण कोरियाका पूर्वमन्त्री डा. ली नाम कीले नेपाल सरकारले लगानीमैत्री वातावरण तयार गरेमा कोरियाको लगानी नेपाल भित्राउन सकिने बताउनुभएकाे छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठसँगको भेटमा उहाँले नेपालले पनि कोरियाको प्रविधि र लगानी भित्राएर विकासमा फड्को मार्न सक्नेमा विश्वास व्यक्त गर्नुभयाे । कोरिया सरकारका आर्थिक योजना विभागलगायत विभिन्न निकायमा झण्डै चार दशक काम गर्नुभएका पूर्वमन्त्री लीले कुनै पनि देश विकासका लागि नेतृत्व बलियो हुनुपर्नेमा जोड दिनुभयाे।

उहाँले दक्षिण कोरियाले सही नेतृत्वका कारण विकशित राष्ट्र बन्न सकेको बताउनुभयाे । उहाँले भन्नुभयाे ‘नेपालमा कैयन सम्भावना छन्, यी सम्भावनलाई अवसरका रुपमा लिन सके नेपालले पनि विकासमा छलाङ मार्न सक्छ । नेपालमा लगानीमैत्री वातावरण बनेमा विश्वबाट लगानी र प्रविधि ल्याउन समन्वय गर्छौ ।’

हाल कोरिया–एसिया इकोनमिक कोअपरेसन एशोसियसनका अध्यक्ष समेत रहेका लीले आफ्नो देशले पनि पहिले वैदेशिक सहायता, प्रविधि र लगानी भित्र्याएर विकास गरेको स्मरण गर्नुभयाे । विकासका लागि पूर्वाधार, यातायात र विद्युतीकरणलाई प्राथमिकता दिनुपर्ने बताउँदै उहाँले सीमित स्रोतलाई परियोजना लक्षित लगानीमा जोड दिनुपर्ने बताउनुभयाे । 

साताव्यापी नेपाल भ्रमणमा आउनुभएका  लीले अर्थमन्त्री, लगानी वोर्डका पदाधिकारीलगायत उच्च सरकारी अधिकारीहरुसँग भेट गरी लगानीका सम्भावनाका बारे भेटवार्ता गर्नुभएकाे थियाे ।

योजना आयोगका उपाध्यक्ष श्रेष्ठले पूर्वमन्त्री लीको नेपालप्रतिको सद्भावका लागि धन्यवाद दिंदै नेपालले ली जस्तै लगानीकर्तालाई लगानीका लागि आह्वान गर्नुभयाे । उहाँले सन् १९५५ ताका नेपालले कोरियालाई खाद्यान्नलगायत सहयोग गरेको विषयलाई स्मरण गर्दै नेपाल विगतमा कमजोर नभएपनि पछिल्ला केही दशकमा राजनीतिक अस्थिरताले गर्दा आर्थिक र विकासमा पछि परेको धारणा राख्नुभयाे ।     

उपाध्यक्ष श्रेष्ठले आयोग १६औँ पञ्चवर्षीय योजना निर्माणमा जुटिरहेको परिप्रेक्षमा परिणाममुखी आयोजनामा ध्यान दिने बताउनुभयाे । गैरआवसीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्का अध्यक्ष विनोद कुँवरले नेपालमा कोरियन प्रविधि र विश्वभर विकसित राष्ट्रले अवलम्वन गरेका विकासको नमूनालाई नेपालमा पनि भित्र्याएर छिट्टै विकास गर्न सकिने सम्भावना रहेको उल्लेख गर्नुभयाे ।

सो अवसरमा सङ्घका पूर्वउपाध्यक्ष सोनाम लामा, महासचिव जानकी गुरुङ, कार्यकारी निर्देशक राजेश राणा, दीपेश खत्री, रोपवे नेपालका अध्यक्ष गुणराज ढकाल र लक्ष्मी बैंकका सञ्चालक दिनेश पौड्याललगायतले नेपाललाई मोनोरेल, साना किसिमका सहरी रेलका माध्यमबाट पर्यटन र जल तथा नवीकरणीय ऊर्जाका माध्यमबाट विकास गर्न सकिने धारणा राख्नुभएकाे थियाे। (रासस) 

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *