तीजको गीत : खट्टे खान आऊ !
— नारद गाैतम
सेतो सेतो बादलुमा कालो कालो तमाल
यताउता सुन्दा कुरा लाग्छ कमाल ।
तेत्तीस किलो सुन खाए चराले र मुसाले
छोड अब यिनी कुरा खट्टे खान आऊ ।
विमान किन्दा पाँच अरब कुखुराले उडाए
त्यस्ता कुरा नगर भो खट्टे खान आऊ ।
मेलम्चीको पानीभित्र तीन अरब माछालाई
जाले रुमाल हल्लाएर खट्टे खान आऊ ।
ठेक्कापट्टा पुल बुझाए दुई महिनामै भाँचियो
छैन बाटो बस यता खट्टे खान आऊ ।
यही असारमा रोड बने पन्द्र दिनमा उक्किए
नबोल भो चुप्प बस खट्टे खान आऊ ।
तरकारी र फलफूलमा विष ल्याए जानेर
छैन ठेगान बाँच्न पनि खट्टे खान आऊ ।
बेलहिया चौकी बन्यो दशगजा मिचेर
ननिकाल यस्ता कुरा खट्टे खान आऊ ।
कञ्चनपुर त्यही चाला छ भाँचिदैछन् पिल्लर
टाल मुख नभन भो खट्टे खान आऊ ।
हेर टि भि ठोक ताली झुम्के कुरा सुनेर
चुप्प बस के भो तनि खट्टे खान आऊ ।
अधिकार छैन तिमी खसखसाउन परेन
बस मिली ओरिपरि खट्टे खान आऊ ।