नेपालकै सूचना प्रविधि पार्कमा स्थापित सुरक्षण मुद्रण छापाखानामा परीक्षण छपाइ

इन्भेष्टोपेपर । माघ ८, २०७८

बनेपा ।  काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरमा १७७ रोपनीमा निर्मित तर प्रयोगविहीन सूचना प्रविधि पार्कमा सुरक्षण मुद्रण छापाखाना (सेक्युरिटी प्रिन्टिङ प्रेस)का लागि आवश्यक उपकरण जडान कार्य थालिएको छ ।छापाखाना सञ्चालनका लागि आवश्यक पर्ने उपकरणहरूमध्ये हाल सूचना प्रविधि पार्कको बहुउद्देश्यीय भवनमा छापाखानाका लागि अन्तःशुल्क स्टिकर छाप्ने दुई थान उच्च सुरक्षित डिजिटल मुद्रण मेसिन (हाई सेक्योर्ड डिजिटल प्रिन्टिङ मेसिन) र एक थान डाई कटिङ मेसिन जडान गरी छपाइको नमुना कामसमेत सम्पन्न भएको छ ।

सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले पुस २९ गते अर्थमन्त्री जनार्दन शर्माद्वारा छापाखानाको अवलोकन गरिएको जानकारी दिनुभयो । ‘‘अर्थमन्त्रीबाट छापाखानाको अवलोकन भएको छ, उक्त अवसरमा हामीले नेपालमा नै अब अन्तःशुल्क स्टिकर छाप्न सकिन्छ भनेर प्रत्यक्ष रूपमा नमुना स्टिकर छापेर देखाएका हौँ’’, उहाँले थप्नुभयो– ‘‘नेपालमा नै अब अहिले प्रयोगमा आएभन्दा गुणस्तरीय अन्तःशुल्क स्टिकर छाप्न सकिन्छ भन्ने प्रमाणित भएको छ ।’’

सरकारले छापाखानाका लागि आवश्यक पर्ने जनशक्तिको व्यवस्थापन गरी अन्तःशुल्क स्टिकर छाप्नका लागि आवश्यक पर्ने कच्चा पदार्थ खरिदका लागि बजेट व्यवस्थापन गरेको खण्डमा स्वदेशमा नै अन्तःशुल्क स्टिकर छाप्न सकिने उहाँले बताउनुभयो । सुरक्षण मुद्रण छापाखानाको अवलोकनका क्रममा अर्थमन्त्री शर्माले छापाखानाको कामलाई तीव्रता दिँदै अन्तःशुल्क स्टिकर छाप्ने मेसिन चाँडोभन्दा चाँडो सञ्चालन गर्न निर्देशन दिनुभएको थियो । हाल जडान गरिएका मेसिनले वार्षिक ६० करोड थान अन्तःशुल्क स्टिकर छाप्न सक्ने सुरक्षण मुद्रण केन्द्रका शाखा अधिकृत हरि बल्लभ घिमिरेले बताउनुभयो । आर्थिक वर्ष २०७७/७८ मा विनियोजन भएको करिब ७३ करोड रुपियाँमध्ये उच्च सुरक्षित डिजिटल मुद्रण मेसिन, डाई कटिङ मेसिन र केही थान सूचना प्रविधिका उपकरण खरिद गरिएको हो ।

छापाखाना स्थापनाका लागि सरकारले चालू आर्थिक वर्ष २०७८/०७९ मा एक अर्ब दुई करोड रुपियाँ बजेट विनियोजन गरेको छ । राहदानी (पासपोर्ट), बैङ्क नोट, राजस्व स्टिकर लगायतका वस्तुको छपाइ स्वदेशमा नै गर्ने उद्देश्यले आर्थिक वर्ष २०७४/७५ देखि सुरक्षण मुद्रण छापाखानाको काम थालिएको हो । राहदानी, बैङ्क नोट, अन्तःशुल्क स्टिकरलगायतका वस्तु छपाइबापत विदेशी मुलुकमा जाने रकमलाई स्वदेशमा नै रोक्ने र सुरक्षण मुद्रणसम्बन्धी सेवा र वस्तु विदेशी बजारमा उपलब्ध गराएबापत देशमा आम्दानी गर्ने उद्देश्यले सरकारले छापाखाना स्थापना गर्ने योजना अघि बढाएको हो ।

केन्द्रका अधिकृत घिमिरेले छापाखानाका लागि आवश्यक पर्ने प्याकेजिङ मेसिन खरिदका लागि बोलपत्र आह्वान गरिएको बताउँदै त्यसको मूल्याङ्कनको काम भइरहेको बताउनभुयो । उहाँले आवश्यक पूर्वाधार निर्माणको कामलाई निरन्तरता दिन यस वर्ष पार्क परिसरमा आवश्यक गोदाम घर निर्माण गर्न जग्गा सम्याउने काम भइरहेको बताउनुभयो ।

छापाखाना रहने जग्गाको वरिपरि आन्तरिक सुरक्षा सडक निर्माणको काम, वर्षामा आउने पानीलाई व्यवस्थित गर्न नाला निर्माण भइरहेको छ । इलेक्ट्रोमेकानिकल र इलेक्ट्रिक इक्युपमेन्ट जडानको कामसमेत अघि बढेको शाखा अधिकृत घिमिरेले बताउनुभयो । यस्तै यसै वर्ष गोदाम घर निर्माण हुने स्थान नजिक पर्खाल लगाउन बोलपत्र आह्वानसमेत गरिने उहाँले बताउनुभयो ।

हालसम्म वैकल्पिक ऊर्जाका लागि चार मेगावाट क्षमताका जेनेरेटरको व्यवस्थापन गरिएको छ भने एक÷एक लाख लिटरका दुईवटा खानेपानी ट्याङ्की निर्माणको काम सम्पन्न भएको छ । त्यसैगरी वैकल्पिक ऊर्जाकै लागि तीन लाख लिटर क्षमताको भूमिगत इन्धन भण्डारण ट्याङ्की निर्माण, सूचना प्रविधि पार्कभित्रका भवनहरूको मर्मत, सम्भार र विद्युत्को लाइन भूमिगत गरिएको छ ।
जनशक्तिका लागि एकजना उपसचिव, सात जना शाखा अधिकृतसहित राजपत्राङ्कित आठजना र नायव सुब्बा, खरिदार, कार्यालय सहयोगी, सवारी चालकलगायतका अन्य २४ कर्मचारी गरी कुल ३२ जनाको अस्थायी दरबन्दीका कर्मचारीको लागि मन्त्रालयमा सिफारिस गरिएको घिमिरेले बताउनुभयो । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *