महिला उद्यमशीलता विकाशका लागी त्रि-पक्षीय सहकार्य
इन्भेष्टोपेपर । माघ ८, २०७८
काठमाण्डाैँ । महिलामा उद्यमशीलता प्रवर्द्धन, वित्तीय साक्षरता र वित्तीय पहुँच पुर्याउने उदेश्यले नबिल बैंक, सीएनआई– वुमन लिडरसीप फोरम र महिला शक्ति विकाश केन्द्र नेपालकाबीच त्रिपक्षीय सम्झौता भएको छ ।
नेपाल उद्योग परिसंघ(सीएनआई) को प्रधान कार्यालय थापाथलीमा गरिएको उक्त सम्झौतामा नबिल बैंकको तर्फबाट प्रमुख कार्येकारी अधिकृत अनिल केशरी शाह, वुमन लिडरसीप फोरमको तर्फबाट संयोजक छाँया शर्मा र महिला शक्ति विकाश केन्द्र नेपालको तर्फबाट कार्यकारी निर्देशक कविता गुरुङले हस्ताक्षर गर्नुभयो ।
कार्यक्रममा बोल्दै नबिल बैंकका प्रमुख कार्येकारी अधिकृत शाहले महिलाको वास्तविक शक्ति भनेको आर्थिक सशक्तिकरण हो र महिलाहरुको आर्थिक विकाशको लागि यो सम्झौता माध्यम बन्ने आशा व्यक्तगर्नुभयो ।
हस्ताकक्षर कार्यक्रममा भर्चुअल्ली उपस्थित हुनुभएका नेपाल उद्योग परिसंघ (सीएनआई) का उपाध्यक्ष निर्वाण चौधरीले वुमन लिडरसीप फोरमलाई बैंक र महिला शक्ति विकाश केन्द्र नेपालको बीच पुलको काम गरेकोमा धन्यबाद ज्ञापन गर्दै यो सम्झौताले महिलाको आर्थिक विकाश संगसंगै देशको दिगो विकाशमा ठुलो टेवा पुर्याउने बताउनुभयो ।
वुमन लिडरसीप फोरम अर्थतन्त्रमा महिलाको भूमिका अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग परिसंघ (सीएनआई) ले गरेको एउटा पहल हो । स्थापनादेखि “महिला नेतृत्व विकास“ को मूल नारा बोकेको महिला शक्ति विकाश केन्द्र नेपाल एउटा गैरसरकारी संस्था हो जसले देशैभरी महिला सशक्तिकरण र महिला नेतृत्वको विकास सम्बन्धि कामहरु गर्दै आइरहेकोछ ।
बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुँच न्युन भएका वर्गलाई कृषि क्षेत्रको व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएका यी कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गर्दै आएको छ । यो सम्झौता मार्फत नबिल बैंकले नबिल दिगो बैंकिङका प्रयासहरुलाई अझ बढी लक्षित वर्गमा पुर्याउन सहयोग गर्ने आशा लिएको छ ।
