सत्ता गठबन्धनले एमसीसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनायो : प्रदीप ज्ञवाली

इन्भेष्टोपेपर । फागुन १३, २०७८

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले सत्ता गठबन्धनले नेपाल र अमेरिकाबीचको एमसीसीको कुरालाई गिजोलेर भूराजनीतिक विषय बनाएको भन्दै देशले यसको गम्भीर मूल्य चुकाउनु पर्ने बताउनु भयो । 

शुक्रबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उहाँले सभामुख र एमालेले कारबाही गरेका १४ जना सांसदहरुलाई कारबाही गरेर अघि बढ्ने कुरामा नेपाली काँग्रेस सकारात्मक रहेको बताउनु भयो । उहाँले संसद अवरोध पार्टीको बाध्यता भएको र आफ्नो पार्टी दलीय स्वार्थका लागि नभइ दलीय व्यवस्था प्रणालीको लागि लडिरहेको बताउनु भयो ।

सांसद ज्ञवालीले भन्नुभयो, ‘छलफलहरु सकारात्मक ढंगले नै अघि बढेको छ । हामीले देशका प्रमुख राजनीतिक दलहरु नेकपा एमाले र नेपाली काँग्रेसको बीचमा मुलुकको राजनीतिक स्थायित्वका लागि, मुलुकमा बाह्य शक्तिसम्बन्धहरुको सन्तुलनहरुको लागि अर्थतन्त्रमा देखा परेका शंकटहरुको निवारणको लागि र यो सिस्टम जोगाउनका लागि मिनिमम अण्डरस्ट्याण्डिङ हुनुपर्छ भन्दै आएका हौँ ‘।

उहाँले भन्नुभयाे, ‘हामीले आफ्नो पार्टीले कारबाही गरेका १४ जना सांसदहरुलाई कारबाहीको सूचना टाँस हुनुपर्छ र यसो नगर्ने सभामुखज्यू हुनुहुन्छ, उहाँले स्टेप डाउन गर्नुपर्छ भन्ने कुरा छ । त्यसो भयो भने संसदमा हामी जान पाउँछौँ, छलफलमा सहभागी हुन पाउँछाैँ । अघि बढ्न सकिन्छ भन्ने हाम्रो भनाइ यथावत छ । यसमा सामान्यतया उहाँहरु सकारात्मक हुनुहुन्छ । दलीय स्वार्थका लागि अहिले संसद बन्द भएको होइन, हामी एउटा सिस्टमा लागि लडेका छौँ । दलीय व्यवस्था हो भने दलको सर्वोच्चता स्थापित हुने एउटा आधारभुत कुरासँग जोडिन्छ, यदी त्यसो भएन भने सिस्टम चल्दैन’ ।

यसैगरि उहाँले थप्नुभयाे, ‘एमसीसीलाई लिएर सरकारमा रहेका गठबन्धन दलहरुले दुई वटा जुन ब्लन्डर गरेका छन्, यसको मूल्य देशले धेरै महंगो चुकाउनु पर्छ । यो अमेरिका र नेपाल दुई देशसँग सम्बन्धित कुरा हो अघि बढाउने नबढाउने भन्ने । तर यसमा उहाँहरुले गिजोल्दा गिजोल्दा भूराजनीतिक विषय बनाउनु भएको छ । एमसीसीको विषयलाई लिएर शक्ति राष्ट्रहरुले नेपालको विषयलाई लिएर तानातान गर्नुपर्ने स्थिति, यो निम्त्याएको उहाँहरुले हो । समाजलाई जसरी विभाजन गर्नुभयो उहाँहरुले आज सडकमा पक्ष र विपक्षमा जुन ढंगको स्थिति बन्दैछ, कुनै पनि विषयमा यो ढंगले समाजमा विभाजन हानिकारक हुन्छ ।’

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *