गैरआवासीय नेपालीको विश्व सम्मेलन शुरु

न्भेष्टाेपेपर । असाेज ३०, २०८०

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को ११औं विश्व सम्मेलन, एनआरएनए अन्तरराष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलन आजदेखि यहाँ शुरु भएको छ । 

‘ज्ञान र रूपान्तरण, समृद्धिको आधार’ नारासहित शुरु भएको विश्व सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले विश्वभर छरिएर रहेका नेपालीलाई एकताबद्ध गर्न एनआरएनएको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्नुभयो । विश्वको जुनसुकै कुनामा रहे पनि नेपाली भएको उहाँको भनाइ थियो । 

मुलुकमा राजनीतिक परिवर्तनपछि आर्थिक समृद्धिको बाटो समात्न ढिला भएको भन्दै उनले सङ्क्रमणकाल लामो समयसम्म रहँदा आर्थिक समृद्धिका विषय ओझेलमा परेको बताउनुभयो । प्रशासनिक पुनःसंरचना भए पनि शासकीय शैली अझै पनि परिवर्तन नसकेको उहाँको भनाइ छ ।

‘नेपालमा आर्थिक समृद्धिका लागि पर्यटन, पूर्वाधार, सूचना तथा सञ्चार क्षेत्रमा लगानीको ठूलो सम्भावना छ,’ राष्ट्रपति पौडेलले भन्नुभयो, ‘हाम्रो छिमेकमा ठूलो बजार छ । नेपालमा लगानीको अपार सम्भावनाको उपयोग गर्नुहोस् ।’

आर्थिक विकास लागि आवश्यक पूर्वाधार बनाउन बहुपक्षीय साझेदारीसहित विदेशमा रहेका नेपालीको ज्ञान, शीप, पूँजी र प्रविधि महत्त्वपूर्ण रहने राष्ट्रपति पौडेलको भनाइ छ । 

नेपालको अर्थतन्त्रमा ‘रेमिट्यान्स’ले महत्त्वपूर्ण भूमिका खेलेको र भुक्तानी सन्तुलन कायम गर्न सहयोगी भएको राष्ट्रपति पौडेलले उल्लेख गर्नुभयो । 

‘नेपालको आन्तरिक क्षमतामा विकास गर्न सकेमा मात्र विदेशमा नेपालीले सम्मान पाउने अवस्था रहन्छ,’ उहाँले भन्नुभयो, ‘नेपाल समृद्ध नभएसम्म विदेशमा नेपाली शिर उचो हुन सक्दैन । विदेशमा नेपाल र नेपालीको विशिष्ट पहिचान स्थापित गर्नु सबैको कर्तव्य हो ।’

नेपालमा लगानी गर्न सहज बनाउन नीतिगत तथा कानुनी तर्जुमा गर्न सरकार तयार रहेको नेपाल प्रकृति र संस्कृतिको अनुपम रहेको उल्लेख गर्नुहुँदै विदेशिएका नेपालीका आफ्ना सन्ततिको भाषा संस्कृति भुल्ने हुँदा नयाँ पुस्तालाई समय–समयमा नेपाल ल्याउन उहाँले आग्रह गर्नुभयो । 

सो अवसरमा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले नेपालको आर्थिक समृद्धिको लक्ष्य पूरा गर्नका लागि गैरआवासीय नेपालीलाई आग्रह गरे । ‘नेपालमा लगानीका लागि स्रोतको अभाव छ,’ उनले भने, ‘नेपालमा लगानी गर्दा तपाईंहरूलाई सरकारले सहुलियत उपलब्ध गराउनेछ ।’ 

नेपाली वस्तु सेवाको विश्व बजारमा पहुँच स्थापित गर्न सरकार हातेमालो गर्न चाहेको उल्लेख गर्दै उनले ज्ञान हस्तान्तरण, युवा परिचालन र महिला सशक्तीकरणका लागि ‘डायस्पोरा’ सशक्तरूपमा अघि बढ्न आवश्यक रहेको बताए । विदेशमा रहने प्रत्येक नेपालीहरू नेपालका लागि अवैतनिक राजदूतका रूपमा रहने परराष्ट्रमन्त्री साउदले उल्लेख गरे । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपालीलाई नेपालका आयोजनामा लगानी गर्न आग्रह गरे । ‘नेपालमा लगानी गर्न पुराना र जटिल खालका नीतिगत र कानुनी संरचना छन् भने त्यसलाई परिमार्जन गरौं । सम्भावनाको खोजी गरौं र नेपालमै रोजगारी सिर्जना गर्ने वातावरण बनाऔं,’ उनले भने । 

संयुक्त राष्ट्रसङ्घका नेपालका लागि आवासीय संयोजक हाना सिङ्गर हाम्डीले नेपालको स्थानीय अर्थतन्त्र निर्माणमा रेमिट्यान्सको ठूलो भूमिका रहेको र नेपालको विकास आवश्यकता पूरा गर्न गैरआवासीय नेपालीलाई स्वदेशमा थप लगानी गर्न सुझाव दिए । 

एनआरएनएका संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपालको आर्थिक विकास र समृद्धिका लागि देशभित्रकै नागरिक जुटेमात्र विदेशबाट पनि सहयोग र समर्थन मिल्ने धारणा राखे । ‘मुलुक बनाउनका लागि सङ्कल्पको कमी छ । हामीसँग पर्याप्त क्षमता हुँदाहुँदै हामीले त्यसको प्रयोग नेपालमा गर्न चुकेका छौं । जबसम्म देश बनाउन नागरिक आफै जुट्दैनन्, तबसम्म मुलुक समृद्ध हुँदैन,’ महतोले भने ।  

कार्यकारी अध्यक्ष डा. बद्री केसीले विदेशमा रहेका नेपालीका केही समस्या रहेको उल्लेख गर्दै सरकारको समन्वयमा त्यस्ता समस्या समाधान गर्न सकिने बताए । उनले श्रम सम्झौता नभएको मुलुक इराकमा ३० हजारको सङ्ख्यामा नेपाली नागरिक काम गरिरहेको, अवैध बाटोबाट कुवेतमा महिला कामदार गइरहेको उल्लेख गरे । 

विगतका वर्षमा नेपालमा लगानी गर्नका लागि कानुनी व्यवधान रहेकामा अहिले सहज हुँदै गएको उनको भनाइ थियो । अहिले सरकार र गैरआवासीय नेपालीको संयुक्त लगानीको कम्पनी स्थापना भएकामा यसले विदेशमा रहेका नेपालीबाट ठूलो लगानी भित्रिने अपेक्षा गरे । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए आइसीसी) का अध्यक्ष रविना थापाले विदेशमा रहेका नेपालीलाई स्वदेशसँग जोड्न अघिकतम पहलको आवश्यकता रहेको बताए । 

एनआरएनएका अध्यक्ष कुल आचार्यले सरकारले गैरआवासीय नेपाली नागरिकता र सामाजिक सुरक्षा कोषको व्यवस्था गरेकामा धन्यवाद ज्ञापन गर्दै मताधिकारको सुनिश्चितताका लागि पनि आग्रह गरे । संसारभर छरिएर रहेका नेपाली विकासका सच्चा साझेदार बन्न सक्ने औंल्याउँदै अध्यक्ष आचार्यले नेपालको माटो बेचेर विदेशमा सम्पत्ति नजोड्न पनि उनले आग्रह गरे ।  (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *