पर्यटन मन्त्री रविन्द्र अधिकारीको अन्त्येष्टि गृह जिल्ला कास्कीमा

Investopaper, फागुन १६, २०७५ 

हेलिकप्टर दुर्घटनामा परी निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको अन्त्येष्टि उनकै गृह जिल्ला कास्कीमा हुनेभएको छ ।

कास्की क्षेत्र नं २ बाट सङ्घीय संसद्का लागि निर्वाचित अधिकारीको शव शुक्रबार बिहान ८ बजेदेखि पोखरा प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धाञ्जलिका लागि राख्ने तयारी भइरहेको उनका स्वकीय सचिव राजेन्द्र आचार्यले जानकारी दिए ।

मन्त्री अधिकारी पोखरा–३३ भरतपोखरीको जामुना बोटमा जन्मिएका थिए ।

स्वकीय सचिव आचार्यका अनुसार अधिकारीको शव काठमाडौं ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा शव परीक्षण गरिनेछ । त्यसपछि नेकपाको केन्द्रीय कार्यालयमा पार्टीको झण्डा ओढाउने र केहीबेर श्रद्धाञ्जलिका लागि राखिने कार्यक्रम छ ।

गृहमन्त्रालयले निर्णय गरेपछि काठमाडौं खुलामञ्चमा सम्मानका लागि लगिनेछ । सरकारले अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने मन्त्रिपरिषद्ले बुधबार निर्णय गरिसकेको छ ।

पोखरा महानगरपालिका वडा नं ३३ का वडाध्यक्ष शिवप्रसाद आचार्यले बिहीबार बेलुकासम्म अधिकारीको शव पोखरा ल्याउने तयारी भएको र शुक्रबार बिहान ८ बजेदेखि अन्तिम श्रद्धाञ्जलिका लागि राखी त्यसपछि अन्त्येष्टि गरिने जानकारी दिए ।

– रासस

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *