अमेरिका–इरान तनाव उत्कर्षमा

इन्भेष्टाेपेपर ।  साउन ८, २०८३

दुबई ।  अमेरिका र इरानबिच जारी सैन्य तनाव शुक्रबार थप चर्किएको छ । अमेरिकी हवाई आक्रमण निरन्तर जारी रहँदा इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको इरानी सम्पत्ति जफत गर्ने चेतावनीलाई उक्साहटपूर्ण कदमको संज्ञा दिएको छ । यसैबिच कुवेतमा मिसाइल र ड्रोन आक्रमण, हुथी विद्रोहीको गतिविधि, संयुक्त राष्ट्रसङ्घको चेतावनी तथा अन्तर्राष्ट्रिय तेल मूल्यमा तीव्र वृद्धि भएपछि क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बनेको छ ।

अमेरिकी सेनाले लगातार १३औँ रात इरानका सैन्य लक्ष्यमाथि आक्रमण गरेको जनाएको छ । अमेरिकी पक्षका अनुसार जलमार्गमा आक्रमण गर्न सक्ने इरानी सैन्य क्षमतामा कमी ल्याउने उद्देश्यले ती कारबाही गरिएको हो । इरानी सरकारी सञ्चारमाध्यमहरूले अमेरिकी क्षेप्यास्त्रले इराक सीमास्थित अहवाज, बन्दर अब्बास र ओमिदियाह क्षेत्रमा विस्फोट गराएको जनाएका छन् । तस्निम समाचार संस्थाले हर्मुज जलघाँटीस्थित केशम टापुको सुजा क्षेत्रनजिक पनि अमेरिकी क्षेप्यास्त्र प्रहार भएको जनाएको छ ।

यसअघि राष्ट्रपति ट्रम्पले अमेरिकाले नियन्त्रणमा राखेका इरानी सम्पत्तिबाट अमेरिकी जहाज, मालवाहक तथा सम्बन्धित सम्पत्तिमा भएको क्षतिको भरपाई असुल्ने चेतावनी दिनुभएको थियो । त्यसप्रति प्रतिक्रिया जनाउँदै तेहरानले उक्त अभिव्यक्तिलाई भड्काउने प्रकृतिको उदाहरण भएको जनाएको छ ।

क्षेत्रीय तनावका बिच कुवेतले पनि इरानतर्फबाट आएको भन्दै मिसाइल र ड्रोन आक्रमण अवरोध गरेको जनाएको छ । इराक सीमास्थित क्षेत्रमा नयाँ ड्रोन आक्रमणको खबर आएको केही घण्टापछि कुवेती हवाई प्रतिरक्षा प्रणाली सक्रिय भएको थियो । कुवेती सेनाका अनुसार शत्रुतापूर्ण मिसाइल र ड्रोनहरूलाई रोकेर निष्क्रिय पारिएको छ ।

अमेरिकी आन्तरिक राजनीतिमा पनि इरान नीति विवादको विषय बनेको छ । अमेरिकी प्रतिनिधिसभाले राष्ट्रपति ट्रम्पलाई इरानविरुद्धको सैन्य कारबाही रोक्न आग्रह गर्दै प्रतीकात्मक प्रस्ताव पारित गरेको छ । प्रस्तावमा अमेरिकी कङ्ग्रेसको स्पष्ट स्वीकृतिबिना इरानविरुद्ध युद्धसम्बन्धी गतिविधि अघि नबढाउन आग्रह गरिएको छ ।

यमनका हुथी विद्रोहीहरूले लाल सागरमा तेल ट्याङ्करमाथि आक्रमण जारी राखेपछि युरोपेली मुलुकहरूले त्यसको कडा आलोचना गरेका छन् । जर्मनीले यसले द्वन्द्व अझ बढाउने चेतावनी दिएको छ भने बेलायतले हुथीहरूको कदमलाई लापरवाहपूर्ण भनेको छ । युरोपेली सङ्घ (इयु) की शीर्ष कूटनीतिज्ञ काजा कालासले ती आक्रमण अस्वीकार्य र अवैध भएको बताउनुभएको छ ।

हुथी आक्रमणपछि राष्ट्रपति ट्रम्पले विद्रोही समूहलाई थप आक्रमण गरे ठुलो सैन्य कारबाहीको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ । उहाँले हुथीहरूलाई इरानको प्रतिनिधि समूह भन्दै त्यसको जिम्मेवारी इरानले पनि वहन गर्नुपर्ने बताउनुभएको छ ।

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले मध्यपूर्वको अवस्था नियन्त्रणबाहिर जान थालेको चेतावनी दिनुभएको छ । उहाँले विश्व अहिले अत्यन्तै खतरनाक मोडमा पुगेको उल्लेख गर्दै तत्काल तनाव कम गर्न सबै पक्षलाई आग्रह गर्नुभएको छ ।

युद्धको प्रभाव अन्तर्राष्ट्रिय ऊर्जा बजारमा पनि देखिएको छ । लाल सागरमा तेल ट्याङ्करमाथिको आक्रमणपछि ब्रेन्ट कच्चा तेलको मूल्य आठ प्रतिशतभन्दा बढी बढेर प्रतिब्यारेल १०१.९३ अमेरिकी डलर पुगेको छ भने वेस्ट टेक्सास इन्टरमिडियट (डब्लुटीआई) ७.६ प्रतिशतले वृद्धि भई प्रतिब्यारेल ९३.४४ अमेरिकी डलर पुगेको छ ।

यसैबिच बेलायतले सुरक्षा अवस्थालाई ध्यानमा राख्दै इरानमा रहेका आफ्ना बाँकी कूटनीतिक कर्मचारीलाई अस्थायी रूपमा फिर्ता बोलाएको छ । बेलायती विदेश मन्त्रालयले तेहरानस्थित दूतावासले अहिले टाढाबाट सेवा सञ्चालन गरिरहेको जनाएको छ । (रासस/एएफपी)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *