बेहुलाले मदिरा सेवनगरी मण्डपमै लट्ठ, बेहुली पनि मण्डप छाडेर भागिन झट्ट !
Investopaper, फाल्गुन २९, २०७५
छप्राः भारतको बिहार राज्यको एउटा गाउँकी एक बेहुलीले मदिरा सेवन गरेर बिहे मण्डपमा पुगेका बेहुलासँग विवाह गर्न अस्वीकार गरेकी छिन् । बिहारस्थित डुमरी छपिया गाउँकी रिन्की कुमारीको बब्लु कुमारसँग शनिबार भव्य विवाह समारोह भइरहेको थियो ।
तर विवाह मण्डपमा बसेका बेहुला मदिराले लट्ठ भएको थाहा पाएपछि बेहुलीले विवाह अस्वीकार गरेकी हुन् । दुलाह यति लट्ठ थिए कि उनी आफू विवाह मण्डपमा आएको समेत होस पाएका थिएनन् ।
छोरीका बाबु त्रिभुवन साहले भने, ‘बेहुलाले यति धेरै मदिरा सेवन गरेका रहेछन् कि आफू कहाँ आइपुगेँ भन्नेसमेत पत्तो रहेनछ । बिहे मण्डपमै उनले अभद्र व्यवहार देखाए, त्यसपछि छोरीले बिहे गर्न मानिनन् ।’
नातेदारहरूका अनुसार बेहुला बिहे मण्डपमा उभिन सक्ने अवस्थामै थिएनन् । बिहेको संस्कार पनि उनी राम्रोसँग गर्न सकिरहेका थिएनन् । ‘त्यही भएर बेहुलीले मण्डप छाडेर भागिन् ।’ विवाहमा सहभागी एक व्यक्तिले भने ।
दुवै परिवारले बिहेका लागि कुमारीलाई राजी गराउने प्रयत्न गरेका थिए तर बेहुली सहमत भइनन् । अन्त्यमा, गाउँलेहरूले बेहुला पक्षले लिएको सबै दाइजो फिर्ता गरेर उनीहरूलाई घर पठाइदिएका थिए ।
भारतका बिहार र उत्तर प्रदेशका ग्रामीण इलाकामा बर्सेनि अवैध मदिरा सेवनबाट हजारौँ मानिसको मृत्यु हुने गरेको छ ।
– एएनआई
