साप्ताहिक कृषि कर्म तथा माैसमी सारांश

इन्भेष्टोपेपर । चैत्र १२, २०७८

नेपाल कृषि प्रधान देश, कृषिकाे उन्नयन बिना देश र देशबासीकाे भलाे हुन सक्दैन । अझै पनि हामी कृषिमा नयाँ प्रविधिकाे प्रयाग गरेर समुिचत लाभ लिन सकिरहेका छैनाै । समस्त कृषकसामु न त मनग्गे सेवा सुविधा पुगेकाे छ न त लगानी ।

कृषि कर्ममा अग्रिम जानकारी भयाे भने मात्र सहि समयमा सहि निर्णय गर्न सकिन्छ र जाेखिम न्यनिकरण हुन्छ । समस्त कृषककाे हितकाे लागि कृषि विभागद्वारा नियमित प्रकाशन गरिने कृषि सल्लाह बुलेटिनलाइ साभार प्रकाशित गरिएकाे छ । (अवधि: ११-१७ चैत्र, २०७८)

मौसमी सारांश:

गत साता गण्डकी प्रदेशको केही र प्रदेश नं-१ का अधिकांश भू-भागहरुमा सरदर भन्दा बढी बर्षा मापन भएको छ। प्रदेश नं-१ को झापा जिल्लामा रहेको चन्द्रगढी केन्द्रमा सबैभन्दा बढी ३६ मि.मि. वर्षा मापन भएको छ।

देशको उच्च पहाडी भू-भागहरु बाहेकका अन्य धेरैजसो भू-भागहरुमा साप्ताहिक औसत अधिकतम तापक्रम ३० डि.से. भन्दा बढी र उच्च पहाडी भू-भागका केहि स्थानहरुमा ५ डि.से. भन्दा कम तापक्रम मापन गरिएको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा हल्का हिमपातको संभावना छ।

पहाडी भू-भागमा साताको शुरु र अन्त्यमा एक-दुई स्थानमा मेघगर्जन/चट्याङ सहित हल्का वर्षाको संभावना छ। तराईमा यस साता वर्षाको संभावना छैन। देशका धेरै स्थानहरुमा न्यूनतम तथा अधिकतम तापक्रम केहि बढ्ने संभावना रहेको छ।

कृषि सारांशः

  • चैते धानको बेर्ना २१ दिन भईसकेको छ भने तयार पारिएको जग्गामा रोप्नुहोस्।
  • नेपालको पश्चिम भूभागको अधिकांश जिल्लाहरुमा गहुँमा लाग्ने सिन्दुरे रोग व्यापक रुपमा देखिन थालेको हुँदा आफ्नो खेतवारीमा यो रोग देखिएमा ढुसीनाशक विषादी टिल्ट १ एम.एल. प्रति लिटर पानीमा वा नाटिभो १.५ एम.एल. प्रति लिटर पानीमा मिसाई १०-१२ दिनको फरकमा २ पटक प्रयोग गरी रोग नियन्त्रण गर्नुहोस्।
  • अरहर तथा चना बालीको कोसामा लाग्ने गवारो कीरा व्यवस्थापनको लागी १० ग्राम भेली प्रति लिटर पानीमा मिसाई बनाएको घोलमा हेली एन.पि.भी वा व्याक्टेरियाजन्य विषादी बी.टी. वा क्लोरानट्रानिलिप्रोल सिफारिस मात्रामा बोट भिज्नेगरि साँझको समयमा छर्नुहोस्।
  • सुख्खा मौसम रहेकोले गहुँ, फलफूल तथा तरकारी बालीहरुमा माटोको चिस्यानको अवस्था हेरि सिँचाई गर्नुहोस्।
  • सुख्खा मौसम रहेकोले सबै किसिमका फलफूल बालीलाई फूल तथा फल झर्ने र पछि गएर फल फुट्ने समस्याबाट जोगाउन आवश्यकता अनुसार सुक्ष्म खाद्यतत्व र सिँचाई दिनुहोस्।
  • केरामा लाग्ने पात डढुवा रोग ब्यवस्थापनको लागि रोगी पातहरु संकलन गरि खाल्डोमा पुरिदिनुहोस् साथै २ ग्राम मेन्कोजेबयुक्त विषादी प्रति लिटर पानीमा मिसाई सम्पूर्ण पात भिज्नेगरि छर्कनुहोस्।
  • आँपको बगैंचामा मधुवा लाग्ने समय भएकोले यसको नियमित अनुगमन गर्नुहोस्। यो कीराको अत्याधिक प्रकोप देखिएमा इमिडाक्लोप्रिड १७.८ एस.एल., १ एम.एल. ३ लिटर पानीमा मिसाई बेलुकीपख छर्नुहोस्।
  • कफीको सेतो गबारोले फुल पार्ने समय भएकोले व्यवस्थापनको लागि १०% को बोर्ड़ो मिश्रणको लेप बनाएर काण्डमा लगाउनुहोस्।
  • तापक्रम बढ्दै जाने क्रम भएकोले मध्य पहाडी क्षेत्रमा सिमी र बोडी लगाउन लाईन देखि लाईनको दूरी १२० से.मी. र बोटदेखि बोटको दूरी २० से.मी. फरक गरि एउटा प्वालमा २ गेडा बीउ खसाल्नुहोस्।
  • उच्च पहाडमा प्राय: सुख्खा रहने तथा सिँचाईको संभावना न्यून भएका स्थानहरूमा आलु रोप्ने बेलामा नै छापोको व्यवस्था गर्नुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरे बालीमा रातो खपटे कीराका लार्भाहरु जमीनको सतह भन्दा अलिकति मुनी बस्ने भएकोले समय-समयमा गोडमेल गर्नुहोस्। कीराले विहान र बेलुका नोक्सानी पुर्याउने भएकोले सम्भव भएसम्म टिपेर नष्ट गर्नुहोस्।
  • जुकेनी फर्सी (स्क्वास), काँक्रो, करेला, घिरौँला, लौका तथा मुन्टा खाने फर्सीको लागि सिफारिस दूरीमा मलखाद प्रयोग गरि विरुवा लगाउनुहोस्।
  • बेर्ना सारेको तरकारी बालीहरुमा रिङ्ग बनाई १०-१५ ग्राम युरिया प्रति बोटको दरले टपड्रेस गर्नुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरे बालीलाई फल कुहाउने औँसाबाट जोगाउन क्यु ल्युर युक्त बोटल ट्रयाप प्रति हेक्टर ८ वटाको दरले राख्नुहोस्।
  • काँक्रो, फर्सी समुहको लहरे बालीमा रातो खपटे कीराका लार्भाहरु नष्ट गर्नको लागि समय-समयमा गोडमेल गर्नुहोस्। प्रकोप धेरै भएमा साँझपख साईपरमेथ्रिन (१०% ई.सी.) २ एम.एल. प्रति लिटर पानीमा मिसाएर माटो र बोट भिज्नेगरि छर्नुहोस्।
  • गाई, भैसी, भेडा, बाख्रामा खोरेत रोग र सुँगुर, बंगुर, बँदेलमा क्लासिकल स्वाइन फिभर रोग विरुद्द खोप लगाउनुहोस्।
  • स्थानीय कुखुराहरु र व्यवसायिक रुपमा पालिएका ब्रोईलर र लेयर्स कुखुराहरुमा हाईली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा लागेको शंका भएमा, पंक्षीहरु आकस्मिक रुपमा मर्न थालेमा वा श्वास-प्रश्वास सम्बन्धि रोग देखापरेमा पशु चिकित्सकसँगको परामर्शमा प्रयोगशाला परिक्षणका लागि पठाउनुहोस्।
  • यस समयमा नर्सिङ्ग पोखरीमा ब्याक स्विमर कीराले माछा भुरामा क्षति पुर्याउने हुँदा १.५ कठ्ठा भुरा हुर्काउने पोखरीमा ८ लिटर डिजेल, २ लिटर डढेको मोबिल र ५०० ग्राम सरफ मिसाई बनेको घोललाई हावा नचलेको बेला बिहानीपख चारै कुनामा पर्नेगरि छर्कनुहोस्। तत्पश्चात ४-५ घण्टा सो पानीको सतहलाई नचलाउनुहोस्।
  • तराईका जिल्लाहरुमा कमन कार्पको भुरा उपलब्ध हुने समय भएकोले मत्स्य ह्याचरीहरुबाट भुराको बन्दोबस्त समयमै गर्नुहोस्।
  • कृषि र पशु सम्वन्धी जिज्ञासाको लागि पैसा नलाग्ने नार्कको फोन नम्बर-११३५ मा हरेक सोमबार दिँउसो २ देखि ४ बजेसम्म फोन गर्नुहोस्।
Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *