डब्ल्यूएचओका महानिर्देशक टेड्रोस आज नेपाल आउदै
इन्भेष्टाेपेपर । वैशाख ८, २०७९
काठमाण्डाैँ । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयसस आज नेपाल आउदै हुनुहुन्छ ।स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा उहाँ इन्डिगो एयरलाइन्सबाट आज दिउसो १२ः२५ बजे नेपाल आइपुग्ने बताइएको छ।
तीन दिने भ्रमणका क्रममा नेपालमा रहँदा उहाँले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनासँग शिष्टाचार भेटघाट गर्नुहुनेछ । त्यसैगरी उहाँले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री खतिवडा र परराष्ट्रमन्त्री नारायण खड्कासँग पनि भेटघाट गर्नुहुने छ । यस्तै नेपालमा रहँदा उहाँले नेपाल सरकारका उच्च अधिकारीसहित डब्ल्यूएचओका नेपालमा रहेका प्रतिनिधि र संयुक्त राष्ट्र सङ्घका प्रतिनिधिसँग पनि छलफल गर्नुहुने छ ।
महानिर्देशक तीन दिने सद्भाव भ्रमणमा नेपाल आउन लाग्नुभएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले जानकारी दिनुभयो । भ्रमणकै क्रममा उहाँले टाइफाइडविरुद्धको खोप अभियान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको पनि अवलोकन गर्नुहुने कार्यक्रम छ । महानिर्देशकका साथ डब्ल्यूएचओको दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयका क्षेत्रीय निर्देशक डा. पुनम खेत्रपाल र डब्ल्यूएचओका अन्य अधिकारीहरू रहनुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । उहाँ वैशाख १० गते नेपालबाट फर्कनुहुने कार्यक्रम रहेको छ ।
