महिनावारी हुँदा पेट किन दुख्छ ? के याे राम्राे संकेत हाे ?

इन्भेष्टाेपेपर ।  असार ७, २०७९

काठमाण्डाैँ । महिनावारी हुने बेलामा धेरै पेट दुख्ने गर्छ। महिनावारीबारे आवश्यक ज्ञान नहुँदा किशोरीले असजिलो महशुस गर्नुका साथै अप्ठ्यारो अवस्थाको समेत सामना गर्नुपरेको हुन्छ।

प्रायः किशोरीहरूमा १३/१४ वर्षदेखि १७/१८ वर्षसम्मको समयमा महिनावारी नियमित हुने गरेको पाइँदैन। महिनावारीको समयमा कहिले कसैलाई धेरै रक्तस्राव भइरहेको हुन्छ भने कसैलाई कम रक्तस्राव हुने गर्छ। तर, यो सामान्य प्रक्रिया हो। झण्डै चालिस प्रतिशत किशोरीमा यस्तो समस्या देखापर्छ।

सुरूमा महिनावारी हुने बेलामा किशोरी अवस्थामा डिम्बाशयदेखि मष्तिस्कसम्मको पहुँच पूर्णरूपमा विकास भएको हुँदैन। त्यसले गर्दा महिनावारीका बेला विभिन्न समस्या आउने गर्छ। यदि महिनावारी लामो समयसम्म भएन अथवा लगातार पाँच दिनभन्दा बढी रक्तस्राव भयो भने त्यस्तो अवस्थामा स्वास्थ्य परीक्षण गर्न जरूरी हुन्छ।

यस्तो बेलामा थाइराइडको समस्या छ कि छैन भनेर आवश्यक परीक्षण गराउनुपर्दछ। कुनै किशोरी धेरै रक्तस्राव भयो भनेर आउँछन् त्यस्तो बेलामा उनीहरूको हेमोग्लोबिन अर्थात् शरीरमा रगतको मात्रा कम भइसकेको हुन्छ। यस्तो हुनुको कारण उनीहरूसँग यसको आवश्यक ज्ञान र बुझाइ कमजोर भएर नै हो।

कतिपय ग्रामीण भेग र स्वास्थ्य सेवामा सहजै पहुँच नभएको ठाँउमा विशेषज्ञ चिकित्सक नभए पनि उपलव्ध स्वास्थ्यकर्मीसँग आफ्नो समस्याबारे परामर्श गरी स्वास्थ्य परीक्षण गराउन सकिन्छ।

यदि ४/५ दिनभन्दा बढी समयदेखि लगातार रक्तस्राव भइरहेको छ, दैनिक ३,४ वटाभन्दा बढी प्याड प्रयोग गर्नु परेको छ र आफ्नो नियमित काममा समस्या भएको छ भने यस्तो बेलामा तुरुन्तै विशेषज्ञ चिकित्सक कहाँ पुगेर स्वास्थ्य परीक्षण गराइ आवश्यक परामर्श लिनु जरूरी हुन्छ।

किशोरी अवस्थामा महिनावारीका बेला धेरै रक्तस्राव हुने समस्याबारे पर्याप्त ध्यान नदिए शरीरमा हेमोग्लोबिनको मात्रा कम भइ समग्र शारीरिक तथा मानसिक विकासमा समेत असर पर्छ। यसले गर्दा दिर्घकालमा विभिन्न स्वास्थ्य समस्यासमेत निम्तिन सक्ने जोखिम हुन्छ।

पेट दुख्दैमा आत्तिहाल्नु पर्दैन

महिनावारी भएको बेलामा पेट दुख्नु सामान्य लक्षण हो। यस्तो बेलामा किशोरीहरू धेरै पेट दुख्ने समस्या लिएर आउने गरेका छन्। किशोरी अवस्थामा महिनावारी हुँदा पेट दुख्नु नराम्रो लक्षण होइन। डिम्बाशयमा अण्डा बनेर फुट्नेक्रम चलिरहने भएकाले पेट दुख्छ। जुन महिनामा अण्डा बन्ने र फुट्ने प्रक्रिया सुरू हुन्छ त्यो महिनामा बढी पेट दुख्ने गर्छ।

यसले किशोरीलाई एकदमै धेरै पीडा दिन्छ तर यो राम्रो संकेत हो। जुन किशोरीलाई महिनावारीको समयमा पीडा हुन्छ त्यस्ता किशोरीको प्रजनन क्षमता राम्रो हुन्छ,त्यसैले महिनावारीमा पेट दुख्नुलाई नराम्रो मान्नु हुँदैन।

अण्डा बन्ने र फुट्ने प्रक्रिया नहुने महिलालाई महिनावारीको समयमा पीडा हुँदैन र महिनावारी समेत नियमित हुँदैन। त्यस्ता महिलाको दिर्घकालमा प्रजनन क्षमता त्यति सुखद् भएको पाइँदैन।

त्यसका लागि बेलेमै विशेष चिकित्सकसँग आवश्यक परामर्श र स्वास्थ्य परीक्षण गराएर भविष्यमा निम्तिन सक्ने जोखिमलाई हटाउन सकिन्छ। जुन महिलाहरूमा सुरूका दिनमा महिनावारीका बेला पेट नदुख्ने तर पछि पेट दुख्ने समस्या भयो र रक्तस्राव बढी हुन थाल्यो भने त्यो रोगको लक्षण हो। त्यस्तो अवस्थामा तुरुन्तै विशेषज्ञ चिकित्सकसँग परीक्षण गराउनुपर्छ।

— डा. नुतन प्रधान

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *