आवधिक,आवास तथा हायर पर्चेज कर्जामा कडाइ, आयश्राेत र करचुक्ता प्रमाण पेश गर्नुपर्ने
Investopaper, पौष ९, २०७६
कुनै पनि वित्तिय संस्थाबाट परियाेजना बाहेकका आवधिक प्रकृतिका शिर्षकमा ऋण लिनका लागि ऋणीले आयस्रोत खुल्ने प्रमाणपत्र, उक्त आयस्रोतमा कर तिरेको प्रमाण वा करचुक्ताको प्रमाणपत्र पेश गर्नुपर्ने भएकाेछ ।
नेपाल राष्ट्र बैंकले मंगलबार निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवधिक कर्जा, घर निर्माण कर्जा र हायर पर्चेज कर्जा प्रवाह गर्दा ऋण भुक्तानी आम्दानी अनुपातकाे अधिकतम सीमा ५० प्रतिशत हुनुपर्ने व्यबस्था गरेकाे छ ।
याे निर्देशनले कुनै व्यक्तिलाई यस प्रकारकाे ऋण प्रवाह गर्दा उसको आम्दानीलाई उसको घर खर्च कटाएर बाँकी रहने अथार्त आम्दानीको ५० प्रतिशतले ऋणको किस्ता तिर्न पुग्ने मात्र बैंकले ऋण प्रवाह गर्न पाउने भएको छ ।
राष्ट्र बैंकले लागू गरेको ऋण भुक्तानी आम्दानी अनुपातको व्यवस्था कतिपय बैंक तथा वित्तीय संस्थाले पूर्णरूपमा लागू गरेका छैनन । तसर्थ अबदेखि यस्ता ऋणलाई वाचलिस्टमा राखि राष्ट्र बैंकलाई जानकारी गराउनु पर्ने मंगलबार जारी गरेको निर्देशनमा उल्लेख छ ।
हाल कडाइकासाथ निर्देशन दिइएकाे ऋण भुक्तानीमा आम्दानीको अनुपात, आयस्रोत खुल्ने प्रमाणपत्र, उक्त आयस्रोतमा कर तिरेको प्रमाण वा करचुक्ताको प्रमाणपत्र पेश गर्नुपर्ने प्रावधानले कर्जाकाे मागमा कमी आउन सक्ने देखिएकाेछ ।

