नागढुंगा सुरुङमार्गको निर्माणले तीब्रता लिँदै, ९ प्रतिशत काम सम्पन्न

इन्भेष्टाेपेपर । फागुन २८, २०७७

काठमाडौं । नागढुंगा–सिस्नेखाला सुरुङमार्ग निर्माण अघि बढेको छ । अहिलेसम्म सुरुङको नौ प्रतिशतभन्दा बढी निर्माण भइसकेको छ । 

गत वर्ष कोभिड–१९ प्रभावका कारण निर्माण सुस्त भए पनि चालू आवमा निर्माणले गति लिइरहेको नागढुंगा सुरुङमार्ग आयोजनाले जानकारी दिएको छ ।  

गत वर्षसम्म तोकिएको तालिकाभन्दा धेरै ढिलाइ भए पनि अहिले झण्डै एक महीना मात्रै ढिला भएको आयोजना प्रमुख नरेशमान शाक्यले बताए । अहिले सुरुङमा चौबीसै घण्टा काम भइरहेको छ । उनले भने, ‘शनिवारबाहेक अरु दिनमा रातदिन काम भइरहेको छ ।’ सुरुङ खन्ने कामसँगै अहिले आवश्यक पर्ने सहायक पूर्वाधार निर्माणको कामसमेत अघि बढिरहेको छ । 

पूर्वतर्फबाट मुख्य सुरुङको ४९ मिटर र पश्चिमतर्फबाट १४९ मि खनिसकिएको आयोजनाले जानकारी दिएको छ । आपत्कालीन प्रयोगका लागि बनाइएको सुरुङ ४५ मिटर खनिएको छ । शुरुमा कठिन भूगोलमा सुरुङ खन्ने काम भइसकेकाले अब खन्न सजिलो हुने प्रमुख शाक्यले बताए । उनले भने, ‘अबको दिनमा सुरुङको गति बढ्नेछ ।’

सोही आयोजनाअन्तर्गत मुख्य सुरुङको अगाडिपट्टि नागढुंगामा ‘ओभरपास’ निर्माण भइरहेको छ । सुरुङसम्म पुग्ने पहँुच सडक निर्माण अघि बढेको छ । आयोजनाका कारण खानेपानीको समस्या आउन सक्ने भएकाले विकल्पका रुपमा पूर्वाधार निर्माण अघि बढिरहेको छ । पहुँच सडक र ‘ओभरपास’ डेढ महीनामा निर्माण सकिने बताइएको छ ।

आयोजनाले सिस्नेरी खोलालाई अर्कातर्फ फर्काएर सम्याउन लागेको छ । सो स्थानमा स्थानीयवासीको उत्पादन संकलन गर्ने केन्द्रलगायत विभिन्न पूर्वाधार निर्माणका लागि खोला पुरिइरहेको प्रमुख शाक्यले बताए । ठूलो मैदान बनाउने काम एक चरणको पूरा भएको उनको भनाइ छ । 

आयोजनाले सुरुङ खन्नका लागि १६ महीना लाग्ने गरी तालिका बनाएको थियो । त्यसमध्ये अहिले एक महीना सकिएको प्रमुख शाक्यले बताए । अबका समयमा १५ महीनामा खनिसकिने गरी काम अघि बढेको छ । खन्ने कामपछि सुरुङमा अन्तिम काम हुनेछ । त्यस क्रममा बत्ती जडान, आगो लाग्दा निभाउनका लागि बत्तीको व्यवस्थापन, सिसिटिभी राख्नेलगायत काम हुनेछ ।

निर्माणस्थलमा अहिले नेपाली र जापानी जनशक्ति कार्यरत छ । नेपाली इञ्जिनीयर झण्डै ९० र परामर्शदाता कम्पनीका तीन जना छन् । निर्माण कम्पनीका २४ प्राविधिक जनशक्ति त्यहाँ कार्यरत  छन् । अदक्ष जनशक्तिमा भने सबै नेपाली नै छन् । 

अहिले झण्डै ३५० कामदार कार्यरत छन् । सडक विभागका १४ प्राविधिक जनशक्ति निर्माणस्थलमा रहेको प्रमुख शाक्यले बताए । उनले भने, ‘नेपालको पहिलो सुरुङ भएकाले नेपाली प्राविधिकलाई पनि सिक्नका लागि अवसर भएको छ ।’

गत वर्ष असोजमा कम्पनीले सडक विभागसँग ४२ महीनामा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । जापान सरकारको ‘सफ्ट लोन’मा सुरुङ निर्माण गर्ने गरी सम्झौता भएको थियो । 

सुरुङमार्ग सञ्चालनमा आएसँगै नागढुंगा–नौबीसे सडकखण्डमा दैनिकरूपमा हुने सवारी चाप कम हुने अपेक्षा गरिएको छ । त्यस स्थानमा धेरै सवारी साधन र व्यक्ति अलपत्र पर्ने गरेकामा समाधान हुनेछ । सोको समाधानसँगै पेट्रोलियम पदार्थको बचत पनि हुनेछ ।

आयोजनाअन्तर्गत साढे नौ मिटर र चार मिटर गरेर दुई सुरुङ निर्माण हुनेछ । दुई ‘फ्लाइओभर’, एक सर्भिस सेन्टर र तीन दशमलव एक किलोमिटर नयाँ सडक निर्माण हुने बताइएको छ । सुरुङमार्गकै मुख र सतुंगलमा ‘फ्लाइओभर’ बनाउन लागिएको छ । 

अन्तरराष्ट्रिय मापदण्डानुसार एउटा लेनको चौडाइ साढे तीन मिटर हुन्छ । तीन लेन नपुगे पनि मुख्य सुरुङमार्गमा तीन सवारी साधन सहज आवतजावत गर्न सक्नेछन् । एउटा गाडी बिग्रँदा दुइटै गाडी चल्न सक्नेछन् । सहायक सुरुङ तत्काल उद्धारका लागि हुने बताइएको छ । ठाउँठाउँमा मुख्य सुरुङबाट सहायक सुरुङ प्रवेशद्वार बन्नेछ । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *