हिमपात र वर्षाले मनास्लु आरोहण प्रभावित, फर्कन थाले आरोही
इन्भेष्टाेपेपर । आश्विन ६, २०८३
गोरखा । भारी हिमपात र निरन्तर वर्षाका कारण हिमाल आरोहणका लागि मनसुन प्रतिकूल भएपछि आरोहीबीच बाटोबाटै धमाधम घर फर्किन थालेका छन् ।
दुई सातासम्म पर्खिँदा पनि मौसमले साथ नदिएपछि आरोही घर फर्किन थालेका मनास्लु हिमाल नजिक रहेको चुमनुब्री गाउँपालिका–१ सामागाउँका वडाध्यक्ष कर्मा छेवाङ लामाले जानकारी दिनुभयाे । मनास्लु क्षेत्रमा भइरहेको निरन्तर वर्षापछि त्यस वरपर पाँच फिट बाक्लो हिमपात भइरहेको उहाँले जानकारी दिनुभयाे । ‘यस्तो त कहिल्यै भएको थिएन । खै के भएको हो, पानी र हिउँ परिरहेको छ,’ वडाध्यक्ष लामाले भन्नुभयाे, ‘झन् ८ गतेदेखि १२ गतेसम्म सरकारले सतर्क रहन भनेको छ । त्यही भएर आरोही धमाधम फर्किएका छन् ।’
उहाका अनुसार मनसुनमा सुधार आए पनि अब यो याममा फेरि फर्केर आरोहणमा जाने सम्भावना छैन ।
विगतका वर्षमा त्यस क्षेत्रमा हतपत वर्षा नै नहुने भए पनि अत्यन्त न्यून हुने गरेकामा यस पटक भने दुई सातादेखि निरन्तर पानी परिरहेको स्थानीय व्यवसायी प्रबल लामा बताउँनुहुन्छ । ‘बेस क्याम्पमा निरन्तर आउन थालेको सन् २०१४ देखि हो । यो बाह्र वर्षको अवधिमा यस्तो कहिल्यै देखिनँ,’ उहाँले भन्नुभयाे, ‘यो वर्ष त पानी परेको पर्यै छ । हिमपात पनि उस्तै छ । बेस क्याम्पमै ३ फिटसम्म हिउँ परेको छ । क्याम्प वान, क्याम्प टु, थ्रीतिर त ७-८ फिट बाक्लो हिउँ परिसकेको छ ।’
बदलिएको मनसुनका कारण केही आरोही फर्किए पनि त्यस क्षेत्रमा अझै धेरै रहेको सामागाउँका होटल व्यवसायी मिङ्मार छिरिङ लामाले बताउनुभयाे । ‘हिमाल चढ्न नसकेर त पोहोरतिर पनि फर्कन्थे । यसपालिचाहिँ अल्लि धेरै फर्केका छन् । मौसम प्रतिकूल भएर होला,’ उहाँले भन्नुभयाे, ‘अहिलेसम्म १० प्रतिशत जति फर्किए होलान् ।’
विश्वमै ख्याति रहेको ८ हजार १६३ मिटर उचाइको मनास्लु आरोहण गर्न यस याममा करिब ५ सय आरोहीले अनुमति लिएका थिए । गत वर्ष ६७ देशका ४१ समूहका ३६६ जना पुरुष र १२७ जना महिला आरोहीले अनुमति लिएका थिए । त्यसबाट नेपाल सरकारलाई रु २२ करोड ४८ लाख १४ हजार राजस्व प्राप्त भएको थियो ।
