दैनिक एउटा अन्डाले बच्चालाई पाेषण र अग्लो बन्न सघाउन सक्छ
इन्भेष्टोपेपर । पुष १६, २०७८
काठमाण्डौं । ‘पेडिएट्रिक्स’ नामक जर्नलमा प्रकाशित एउटा लेखमा अन्डा खानु होचोपन नियन्त्रणको सबैभन्दा सस्तो विधि हुनसक्ने उल्लेख गरिएको छ।
कम उसिनेको अर्थात ‘सफ्ट वोइल्ड’ वा बढी उसिनिएको ‘हार्ड बोइल्ड’ अथावा ‘फ्राइ’ गरिएको वा अमलेट बनाइएको अन्डाले कलिला बालबालिकालाई शक्ति दिने जस्तो देखिएको उक्त अध्ययनको निचोड छ।
शिशुहरुको पहिलो दुई वर्ष उनीहरुको शारीरिक विकासका लागि संवेदनशील अवधि मानिन्छ र त्यसबेला होचोपनको समस्या देखिए त्यो दीर्घकालीन हुनसक्ने बताइन्छ।
होचोपनसहित बालबालिकामा देखिने संक्रमण तथा अन्य रोगहरुको प्रमुख कारक कमजोर पोषण मानिन्छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर पाँच वर्षमुनिका १५ करोड ५० लाख बालिबालिकाहरुमा होचोपनको समस्या रहेको छ।
लोरा इयान्नोटी र उनका सहकर्मीहरुले इक्वेडरको ग्रामीण पहाडी क्षेत्रमा स्थलगत अनुसन्धानको विधिमार्फत छ देखि नौ महिनाका शिशुहरुलाई नि:शुल्क अन्डा बाँडेर त्यो खाँदा उनीहरुमा केही सुधार देखिन्छ कि भनेर हेरेका थिए।
खानामा अन्डा
अनुसन्धानका लागि छनोट गरिएका १६० जना शिशुमध्ये केहीलाई छ महिनासम्म दैनिक एउटा अन्डा खान दिइएको थियो र उनीहरुको तुलना अन्डा नदिइएका अरु शिशुहरुसँग गरिएको थियो।
अध्ययन सकिँदासम्म अन्डा खाने शिशुहरुमा नखानेको तुलनामा ४७ प्रतिशतले होचोपनको समस्या कम देखिएको अनुसन्धानकर्ताहरुले बताएका छन्। अनुसन्धान शुरु गर्दाको बेला अन्डा खान छनौट गरिएका धेरै शिशुहरुमा उनीहरुको उमेर अनुसारको उपयुक्त उचाइ नरहेको पाइएको थियो।
प्रमुख अनुसन्धानकर्ता लोरा इयान्नोटी भन्छिन्, “अन्डा खान दिंदा त्यसले शिशुहरुमा पारेको प्रभावले हामीलाई आश्चर्यचकित बनाएको छ, भोकमरी र कुपोषणबाट पीडित जनसंख्याका लागि यो उपाय निकै उपयोगी र सजिलो हुनसक्छ।”
उनले सानो पेट भएका कम उमेरका बालबालिकाका लागि अन्डा एकदमै उपयुक्त आहारा भएको बताइन्। “अन्डामा विभिन्न पोषण तत्वहरुको मिश्रण हुन्छ त्यही भएर यो निकै महत्वपूर्ण छ।”
रोयल कलेज अफ पेडिएट्रिक्स एण्ड चाइल्ड हेल्थकी पोषणसम्बन्धी प्रमुख प्राध्यापक मेरी फ्युट्रेल भन्छिन्, “यस विषयमा धेरै अध्ययन अनुसन्धान नहुनु आश्चर्यको विषय हाे, तर केही संस्कृतिहरुमा कम उमेरका बालबालिकालाई अन्डा खुवाउनु गलत मानिन्छ र त्यसले बालबालिकामा एलर्जीजस्ता समस्या निम्त्याउनसक्ने ठानिन्छ।”
उनले शिशुहरु चार महिनाको भइसकेपछि मात्रै अन्डासहितका अन्य पोषणयुक्त खानेकुरा खुवाइनुपर्ने सल्लाह दिएकी छन्। सम्भावित जोखिम रोक्न कलिला शिशुहरुलाई खुवाइने अण्डा राम्ररी पकाइएको हुनुपर्ने उनको तर्क छ।
विश्व स्वास्थ्य संगठन के भन्छ ?
विश्व स्वास्थ्य संगठनले आफ्ना छोरा छोरीको बढी भन्दा बढी शारिरिक विकास तथा राम्रो स्वास्थ्य सुनिश्चित गर्न जन्मेको पहिलो ६ महिना आमाको दुध खुवाउनुपर्ने सुझाव दिने गरेको छ।
पहिलो छ महिनापछि नवजात शिशुहरुलाई अन्य पोषणयुक्त खानेकुरा खुवाउन सकिने र दुई वर्षसम्म वा त्यसपछि पनि स्तनपान गराइरहन सकिने उसको सुझाव छ।
ब्रिटेनको पोषण हेर्ने एउटा निकायले अन्डा पोषणयुक्त खानेकुरा भएपनि बालबालिकाहरुले विभिन्न प्रकृतिका पोषणयुक्त आहारा खान पाउनुपर्ने उल्लेख गरेको छ। उसका अनुसार त्यसबाट उनीहरुले आवश्यक भिटामिन तथा खनिजहरु प्राप्त गर्नेमात्र नभई विभिन्न स्वादहरु थाहा पाउनेछन्।
केटाकेटीहरुले अत्याधिक प्रोटिन पाइने खानेकुराहरु जस्तै अन्डा, बोडी, दाल, माछा, मासु तथा अन्य दुग्ध पदार्थहरु खुवाउनपर्ने सुझाव उसको छ।
— बीबीसीबाट
