उपराष्ट्रपति यादव र यूरोपेली संघकी राजदूत लोरेज्नोबीच शिष्टाचार भेट

न्भेष्टाेपेपर । वैशाख २०, २०८१

काठमाण्डाैँ । सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवसंग नेपालका लागि यूरोपेली संघ (ईयू) की महामहिम राजदूत भेरोनिक लोरेज्नोले शिष्टाचार भेट गर्नुभएको छ । उपराष्ट्रपति यादव र ईयूका राजदूत लोरेज्नोबीच लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा आज (बिहीबार) शिष्टाचार भेट भएको हो ।

भेटमा शुभकामना आदानप्रदानपछि द्विपक्षीय सम्बन्ध,जलवायु परिवर्तन लगायतका विषयमा महत्वपूर्ण छलफल भयो । उपराष्ट्रपति यादवले नेपाल र युरोपेली संघ (ईयू) बिच सन् १९७४ यता कायम रहेको घनिष्ठ, सौहार्द्रपूर्ण एवम् मैत्रीपूर्ण सम्बन्धबाट आफू सन्तुष्ट रहेको उल्लेख गर्दै नेपालले ईयूसँगको साझेदारीलाई उच्च महत्व दिँदै आएको बताउनु भयो ।

‘यो वर्ष हामीले नेपाल र ईयूबीच कूटनीतिक सम्बन्ध स्थापनाको स्वर्ण वार्षिकोत्सव मनाइरहेका छांै । यस सुखद उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु ’ उहाँले भन्नुभयो, ‘ईयू नेपालको प्रमुख विकास साझेदार हो । स्वास्थ्य, शिक्षा, खानेपानी, सरसफाई र ग्रामीण विकासमा ईयू समर्थित कार्यक्रमहरू हाम्रा लागि उपयोगी र महत्वपूर्ण छन् । मलाई आशा छ अगामी दिनहरुमा सहयोगको दायरा र परिमाण नेपालका उत्पादनशील क्षेत्रहरूमा विस्तार र वृद्धि हुँदै जाने छन् ।’

विशेषगरी कर्णाली प्रदेशमा ईयूको सहयोग अन्तरगतका आयोजनाले ती दुर्गम क्षेत्रका सर्वसाधारणलाई धेरै फाइदा पुगेको उहाँले बताउनु भयो । ‘नेपाल र ईयूले लोकतन्त्र, स्वतन्त्रता र बहुपक्षीयताको महत्व जस्ता साझा मूल्यहरूमा विश्वास राख्दछ ’ उपराष्ट्रपति यादवले भन्नुभयो, ‘महामारी र जलवायु परिवर्तन लगायत विश्वले पछिल्लो समय सामना गरिरहेको प्रकृतिका चुनौतीहरूले बहुपक्षीय सहकार्य पहिलेभन्दा बढी आवश्यक भएको संकेत गरेकोले यी विषयमा थप सहकार्य गर्न नेपाल तत्पर छ ।’

उहाँले नेपाललाई राजनीतिक रूपान्तरणको वर्तमान चरणमा पुग्न अन्तर्राष्ट्रिय समुदायबाट धेरै सद्भाव र समर्थन प्राप्त भएको पनि बताउनु भयो ।  ‘नेपालको ऐतिहासिक राजनीतिक उपलब्धिहरू कायम राखी मुलुकको आर्थिक आकांक्षा पूरा गर्न ईयूले आफ्नो बहुमूल्य सहयोग जारी राख्ने विश्वास व्यक्त गर्दछु ’ उहाँले भन्नुभयो, ‘मलाई आशा छ, तपाईं (महामहिम) को कार्यकालमा नेपाल–ईयू सम्बन्ध थप सुदृढ, प्रगाढ एवं बलियो हुने र नेपाललाई प्राप्त हुने विकास सहयोगको निरन्तरतामा सकारात्मक प्रभाव पर्नेछ । ’

भेटमा नेपालका लागि यूरोपेली संघ (इयू) की राजदूत भेरोनिक लोरेन्जोले नेपालको संस्कृति धेरै विकसित रहेकोमा प्रशंसा गर्दै ईयूले सामाजिक समावेशीकरण र शिक्षा क्षेत्रमा काम गर्न चाहेको बताउनु भयो । ‘ नेपालले लगानी र आर्थिक बृद्धि गरी कृषिसहित विभिन्न क्षेत्रको विकासमा जोड दिनु सकारात्मक हो । नेपालमा ईयूको सहयोग निरन्तर रहने छ ’ उहाँले भन्नुभयो, ‘यसै महिना ईयूले भारतमा रहेका सय भन्दा बढी कम्पनीलाई सहभागिता गराई ‘बिजनेस फोरम’ सम्मेलनको आयोजना गर्ने तयारी गर्दैछ । ’ उहाँले नेपालमा ईयूले धेरै पछाडि परेको सुदूर पश्चिम, कर्णाली तथा मधेश प्रदेशमा आफ्नो सहयोगलाई केन्द्रित गरेको बताउनु भयो ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *