मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्गदान गर्न आग्रह
इन्भेष्टाेपेपर । साउन २८, २०८३
काठमाडौँ । राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले मृत्युपछि खेरजाने अङ्गदान गरी अन्य व्यक्तिको जीवन बचाउन आग्रह गरेको छ ।
विश्व अङ्गदान दिवसका अवसरमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय अन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले जनचेतनामूलक सूचना सार्वजनिक गर्दै यस्तो आग्रह गरेको हो ।
मस्तिष्क मृत्यु (ब्रेन डेथ) भएको अवस्थामा अङ्गदान गर्न सकिने केन्द्रको भनाइ छ । केन्द्रका अनुसार एक जना अङ्गदाताबाट आठ जनासम्मको जीवन बचाउन सकिन्छ।
अङ्गदानबाट मुटु एक जना, फोक्सो दुई जना, कलेजो एक जना, मिर्गौला दुई जना, प्याङ्क्रियाज एक जना र सानो आन्द्रा एक जनालाई प्रत्यारोपण गर्न सकिने जनाइएको छ।
अङ्गदानका लागि उमेर, लिङ्ग वा धर्मका आधारमा भेदभाव नहुनेसमेत सन्देशमा उल्लेख छ।मृत्युपछि पनि मुटु, फोक्सो, कलेजो, मिर्गौला, प्याङ्क्रियाज लगायतका अङ्ग दान गर्न सकिने भएकाले अङ्गदानसम्बन्धी निर्णय समयमै गर्न केन्द्रले आग्रह गरेको छ ।
केन्द्रले अङ्गदानका विषयमा परिवारसँग छलफल गर्न, इच्छापत्र दर्ता गर्न र समुदायमा अङ्गदानसम्बन्धी सकारात्मक सन्देश फैलाउन आह्वान गरेको छ।‘एक महान् निर्णय, अनेक जीवनको आशा’ भन्ने नाराका साथ विश्व अङ्गदान दिवस मनाइएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।
