७१ वर्षमा बिवाहः पुराना दुख बिर्सेर रमाइरहेकाे जिन्दगाी

नरेन्द्र केसी, घोराही, दाङ

उमेर ७२ तर मुस्कानमा जवानीकै झल्को । हिमालको हिउँजस्तै टन्न मिलेका दाँत, हाँसिरहने बानी । बिहानदेखि साँझसम्म चोयाचेत्राको काम तर कतै देखिँदैन थकानको महसुस ।

सात दशक पार गरेको संघर्षको पेटारो सित्तिमिति खोल्न मन लाग्दैन उहाँलाई । उल्टै प्रश्न गर्नुहुन्छ– ‘ए, बरै ! पुराना दुःख सम्झेर के हुन्छ र ? आज रमाइलै गरी बितेको छ, यति भए त पुग्यो ।’

हरेक व्यक्तिका आफ्नै कथा हुन्छन् तर सबैका कथा मन छुने हुँदैनन् । दाङको घोराही उपमहानगरपालिका–१० लमडरुवा डाबरस्थित ऐलानी बस्तीको सानो झुपडीमा बस्ने एक वृद्धा आमाको संघर्ष र उद्यमशीलताको निकै मार्मिक कथा छ ।

सानै उमेरदेखि बाँसका सुपा बुन्न सिकेकी ७२ वर्षीया भुमकला घर्तीको बुढेसकालमा यही सीप नै सहारा बनेको छ । अहिले पनि उहाँ दैनिक तीनवटा जति सुपा बुन्नुहुन्छ, आफू र श्रीमान्को जोहो यसैबाट चलेको छ । ‘यत्ति त होइन, सानो श्रीमान्को पसल पनि छ’ –आफ्नै सीप र श्रमको त्यति बढाइचढाइ गरेको मन पर्दैन उहाँलाई ।

साविक सैघाको खानीगाउँमा जन्मेकी भुमकलाको गाउँमै सानैमा विवाह भयो । एक छोरा र चार छोरी जन्मे । छोरीहरु सबैको विवाह भयो । छोराले पनि बिहे गरे । श्रीमान् रहँदासम्म राम्रै थियो उहाँको परिवार तर श्रीमान् बितेपछि छोराबुहारीबाट सम्मान पाउन सक्नुभएन ।

‘बुढा त बितिगए, छोराबुहारीले राम्रै व्यवहार गर्लान् भनेर बाह्र वर्षसम्म बसें’, उहाँ विगत सम्झनुहुन्छ– ‘तर, पछिपछि त छोराबुहारी नै लागेर मलाई पिट्न थालेपछि बसिनसक्नुभयो र नयाँ घरबारको सोच बनाएँ ।’

नभन्दै साविक सैघाकै श्रीमती बितेका एक वृद्ध भेट्नुभयो उहाँले । ‘उहाँको पनि श्रीमती बितेको दुईवर्ष भएको रहेछ, म पनि बाह्र वर्षदेखि छोराछोरीको पिटाइ खाँदाखाँदा हुक्क भइसकेकी थिएँ’,७१ वर्षको उमेरमा नयाँ घरवार बसाउनुको कारण खोल्दै उहाँले भन्नुभयो– ‘दुवैका दुःख उस्तै रहेछन्, मन मिल्यो अनि ७१ वर्षमा नयाँ घरबार जोडियो ।’

दुःखकै कारण दोस्रो विवाह गरे पनि त्यसपछि भने सुखका दिन शुरु भएको भुमकलाको अनुभव छ । पढ्ने लेख्ने र अक्षर चिन्ने त परकै कुरा श्रीमान्की नाम थाहा छैन उहाँलाई तर गहिरो दर्शन भेटिन्छ उहाँका जीवन भोगाइभित्र ।

‘काम गरेर खानुलाई त दुःख भनिँदैन नि’, हाँसोको खित्का छाड्दै, जीवनको सार मिसाउँदै उहाँ थप्नुहुुुन्छ– ‘बूढाबूढी हाँसेका छौं, मन लागेको कुरा खाएका छौं, रमाएको छौं, यही होला सुख भनेको ।’

दैनिक तीनवटा सुपा बनाउनुहुन्न उहाँ । सुपा लिन ग्राहक उहाँकै घरमा आउँछन् । तीन सय वा चार पाथी धान एउटा सुपाको मूल्य हो । ‘बूढाबूढी मात्र कति खानु र, पोहोर सालकै धान बाँकी छ’,श्रमबाट जोडेको सम्पत्तिको बखान गर्दै फेरि हाँसाको खित्कासँगै थप्नुहुन्छ उहाँ– ‘अहिलेको धान त अर्को वर्ष खाने त होला !’ अाजकाे नेपाल समाचार पत्रमा खवर छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *