रोहित चन्द फेरि इन्डोनेसियाको पर्सिजा जाकार्ता क्लवमै अनुवन्ध
Investopaper, ८ फागुन, काठमाडौं ।
नेपाली राष्ट्रिय फुटबल टिमका महत्वपूर्ण मिडफिल्डर खेलाडी रोहित चन्द व्यावसायिक फुटबल खेल्नका लागि पुनः इन्डोनेसियाको पर्सिजा जाकार्ता क्लवमा नै अनुवन्धित हुने भएका छन् ।
गत सिजनमा पर्सिजा जकार्तालाई लिग च्याम्पियन बनाएका रोहित मोस्ट भ्यालुयवल प्लेयर तथा प्रतियोगिताकै उत्कृष्ट खेलाडीसमेत बनेका थिए । यसअघि लिग सकिएपछि नयाँ क्लवको खोजीमा रहेका रोहितलाई अरु क्लबले अनुबन्ध गर्न इच्छुक रहेको बताइए पनि अन्तिममा उनले पुरानै क्लबमा सम्झौता गर्ने भएका हुन् ।
रोहितको अनुबन्धका लागि इन्डोनेसियाकै अरु क्लब र अष्ट्रेलियाबाट पनि अफर आएको भए पनि पर्सिजाले रोहितलाई अनुबन्ध गर्न निकै इच्छा गरेकाले सम्झौता लम्ब्याउन लागेका परिवार श्रोतले बताएको छ ।
नयाँ सम्झौतासँगै रोहित पर्सिजाबाट लगातार पाँचौ सिजन खेल्ने भएका छन् । रोहितको २०१८ को डिसेम्बर अन्तिममा पर्सिजासँग सम्झौता सकिएको थियो । यसअघि उनी २०१३ देखि २०१५ सम्म पर्सिजा जाकर्तामा अनुबन्धित भएका थिए । त्यसपछि २०१७ देखि २०१८ सम्म उनले उही क्लबबाट व्यवसायिक फुटबल खेले । नयाँ सम्झौताका लागि रोहित बुधबार साँझ इन्डोनेसिया पुग्ने बताइएको छ । तर क्लबले रोहितका बारेमा केही बोलेकाे छैन ।
