डेपुटी गभर्नर श्रेष्ठ निलम्बनमा, तीन सदस्यीय छानबिन समिति गठन

Investopaper, कार्तिक १८, २०७६

नेपाल राष्ट्र बैंकले डेपुटी गर्भनर शिवराज श्रेष्ठ राष्ट्र बैंक ऐन अनुसार छानबिन समिति गठन भएसँगै निलम्बनमा परेका छन् । सरकारले श्रेष्ठको विषयमा छानविन गर्न निर्देशन दिएसँगै राष्ट्र बैंकको सञ्चालक समितिको सोमबार बिहान बसेको बैठकले तीन सदस्यीय छानबिन समिति गठन गरेकाे हाे ।

नेपाल राष्ट्र बैंककै सञ्चालक डा. श्रीराम पौडेलको संयोजकत्वमा गठिन समितिमा राष्ट्र बैंकको सञ्चालक समितिका डा. सुबोधकुमार कर्ण र रामजी रेग्मी सदस्य रहेका छन्। अब राष्ट्र बैंकले छानबिन समिति गठन भएको जानकारी सरकारलाई गराउने छ भने डेपुटी गभर्नर श्रेष्ठलाई निलम्बनको पत्र भने सरकारले दिनेछ।

श्रेष्ठमाथि लागेका आरोपहरुको छानबिन गरी प्रतिवेदन पेश गर्नकाे लागि एक महिनाको समय दिइएको छ। छानबिन समितिले श्रेष्ठलाई दोषी ठहर गरि प्रतिबेदन पेश भएमा राष्ट्र बैंकले स्पष्टीकरण साेध्ने र चित्तबुझ्दो जवाफ नआएमा बर्खास्त गरिनेछ।

मन्त्रीपरिषद्को गत बिहीबार बसेको बैठकले श्रेष्ठमाथि वित्तीय स्थायित्वमा खलल पर्ने काम गरेको, सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा विभिन्न उजुरी परेको, फर्जी कागज तयार पारी अनधिकृत सुविधा लिएको र विभिन्न बैंकको खराब कर्जा लुकाउन भुमिका खेलेको लगायतका आरोप लगाएको थियो।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *