उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धकमा न्यौपाने
इन्भेष्टाेपेपर । पुष २२, २०७७
उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धकमा गोपी न्यौपाने नियुक्त हुनभएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उद्योग, वाािणज्य तथा आपूर्ति मन्त्रालयको सिफारिशमा मध्यपुुरथिमि नगरपालिका भक्तपुरका न्यौपानेलाई महाप्रबन्धकका रुपमा नियुक्त गरेको हो ।
उद्योगका महाप्रबन्धकका लागि मन्त्रालयले तीन जनाको नाम सिफारिश गरेको थियो । उद्योग मन्त्रालयका सचिव चन्द्रकुमार घिमिरेका संयोजकत्वमा गठित सिफारिश समितिले न्यौपाने, काठमाडौँका ध्रुवबहादुर देवकोटा र कपिलवस्तुका भूप्रेन्द्रप्रसाद अर्यालको नाम मन्त्रिपरिषद्मा सिफारिश गरेको थियो ।
सिफारिश समितिमा पूर्वसचिव कृष्णहरि बाँस्कोटा, रामेश्वर खनाल र नारायणप्रसाद बिंडारी रहनुभएको थियो । न्यौपाने नेपाल चार्टर्ड एकाउन्टेन्ट सङ्घ र नेपाल बार एशोसिएशनका सदस्य तथा नेपाल अटो मोबाइल्स सङ्घ नाडाका महासचिवसमेत भइसक्नुभएको छ ।
यसैगरी, नागरिक ट्रष्ट फन्ड, नागरिक कम्युनिटी टिचिङ अस्पतालजस्ता सामाजिक संस्थामा आबद्ध हुनुहुन्छ । उहाँ शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रमा समेत व्यावसायिकरुपमा आबद्ध रहनुभएको छ ।
अर्थविज्ञ, लेखापरीक्षक तथा कानून व्यवसायी न्यौपानेले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा तथा पूर्वाञ्चल विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर गर्नुभएको छ । उहाँ हाल माछापुच्छ्रे बैंकका सञ्चालक रहनुभएको छ । उहाँसँग सञ्चालक समितिमा लेखा संयोजक तथा जोखिम व्यवस्थापन समितिमा मुख्य जिम्मेवार भएर काम गरेको अनुभव छ । न्यौपानेसँग चौधरीमा महाप्रबन्धकका रुपमा दुई दशक लामो समय काम गरेको अनुभवसमेत छ ।
उद्योगका तत्कालीन महाप्रबन्धक सुरेन्द्रकुमार पौडेलले २०७५ साल पुस २४ गते नेपाल आयल निगमको प्रबन्ध निर्देशक भएसँगै उक्त पद खाली थियो । सरकारले दुई वर्षपछि आफूलाई महाप्रबन्धकमा नियुक्त गरेको न्यौपानेले जानकारी दिनुभयो । उहाँको कार्यकाल चार वर्षको रहनेछ । (रासस)