कविता : खोल
— भैरव अर्याल
अस्पतालको सगोल पलङ्गमा सेतो सुकिलो ओछयान पाई
नयॉ रोगी रम्दछ पहिले खोल र तन्ना सुम्सुमाई
अहा ! कस्तो सफा विछयौना हातको मयल पनि सर्ला जस्तो
कति नरम औ कति मनोरम ! खोपी भित्रको शैयया जस्तो !
तर, जव ओल्टे – कोल्टे गर्दा तन्ना खोल अलि सर्न जान्छ
अनि, रोगीकाे आंँखा सहसा भित्री तहमा पर्न जान्छ
ती सुकिला खोलहरु भित्र कति थङ्गन ती सीरक – डसना
टाल्दै तुन्दै छोपिई रहेको सयौ वर्षको अवशेषपना ?
छया ! छया !! देख्दै डुङ्ग गन्हाउने पीप – रगतका टाटै टाटा
जति पल्टायो उति घिनलाग्दो दिशा पिसावले कुहिदा पाटा
देख्छन जब यो रोगी अनि पो खुल्दछ उसमा भित्री पोल
नव्य झै लाग्ने भव्य झै लाग्ने ओछयान रहेछ केवल खोल ।
दाह्रा किट्तछ अनि त्यो रोगी चिच्याउन लाग्छ च्यात्तै खोल
खोल खोल मै कति दिन आंँक्छौ जग – जीवनको मोल ?
तर, नाडी समाई भन्दछ डाक्टर “छैन यस्को ब्रेन कन्ट्राेल”
अनि धाईले प्याईदिन्छे मुसुक्क हांस्दै रङ्गीन झोल ।