कविता : हे भानु आऊ अब

— विदुर अधिकारी

छ्न्द — शार्दूलविक्रीडित

जन्म्यौ भानु असार मास दिनको, उन्तीस जाँदा दिन
जन्मेको स्थल त्यो थियो तनहुँको, रम्घा चुँदी माझमा
हौ सच्चा अनुवाद गर्न सहजै, सक्ने तिमी साधक
त्यो रामायण फेरि लेख्नु छ अझै, हे भानु आऊ अब ।
(१)
बाजे कृष्ण थिए धनञ्जय पिता, धर्मावती मातृका
सानैमा कविता सिलोक लयमा,भन्थ्यौ अरे सर्वदा
घाँसीबाट सिकेर पाठ गुनिलो, बन्दै गयौ साधक
त्यो रामायण फेरि लेख्नु छ अझै, हे भानु आऊ अब ।
(२)
बाजेबाट भएर दीक्षित तिमी, भाषा बन्यो अमृत
लेख्यौ राम कथा अहा१सुरसिलो, उल्था गरी संस्कृत
नेपालीपनको उजागर गरी, भाषा मिलायौ सब
त्यो रामायण फेरि लेख्नु छ अझै, हे भानु आऊ अब ।
(३)
ती प्रश्नोत्तर आदि पुस्तकहरू, लेख्यौ नि रामायण
साँचो जीवनका व्यथा अनि कथा, लेख्यौ नियालीकन
सारा यी घरबार वर्णन गरी, साँचो बतायौ सब
त्यो रामायण फेरि लेख्नु छ अझै, हे भानु आऊ अब ।
(४)
मोतीराम भएर माध्यम सबै, छापे जसै सिर्जना
तिम्रो कीर्ति समस्त फैलिन गयो, बढ्दै गयो तिर्सना
हाम्रा राष्ट्रविभूति, आदिकवि हौ, सम्मानका लायक
त्यो रामायण फेरि लेख्नु छ अझै, हे भानु आऊ अब ।
(५)

विदुर अधिकारी
भरतपुर महानगरपालिका(१९
रामपुर,चितवन

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *