कृषि मन्त्रालयले इजरायलको प्राविधिक सहयोगमा सेन्टर अफ एक्सलेन्सी सञ्चालन गर्दै

इन्भेष्टोपेपर । बैशाख १६, २०७

काठमाडौँ ।  कृषि तथा पशुपन्छी विकास मन्त्रालयले इजरायल देशको प्राविधिक सहयोगमा सेन्टर अफ एक्सलेन्सी (सिकाइको उत्कृष्ट थलो) सञ्चालन गर्ने भएको छ । कृषि मन्त्रालय र इजारायली दूतावासबीच यसका लागि सम्झौता पनि भइसकेको मन्त्रालयका प्रवक्ता श्रीराम घिमिरेले बताउनुभयो ।

पहिलो चरणमा तीन ठाउँमा यो सेन्टर स्थापना गर्ने छलफल भएको छ । सर्लाहीको बृहत् बागवानी स्रोत केन्द्र, नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) काठमाडौँको खुमलटार र अर्को नेपाली सेनाले लमजुङमा आफैँले सञ्चालन गर्दै आइरहेको व्यावसायिक कृषि तथा पशुपालन तालिम केन्द्रमा सो सेन्टर स्थापना गर्ने भएको छ ।

यसको विस्तृत अध्ययनका लागि प्रवक्ता घिमिरेको संयोजकत्वमा प्राविधिक समिति बनेको छ । सो प्राविधिक समितिले त्यसबारे विस्तृत अध्ययन थालेको छ । सेन्टर अफ एक्सलेन्सीमा तरकारी तथा फलफूलको विस्तृत अध्ययन र अनुसन्धान गर्नेछ । ‘एक क्षेत्र एक बाली’को अवधारणाअनुसार यो सेन्टर स्थापना गर्न लागिएको हो । एउटा सेन्टरमा एउटा कुनै तरकारी वा फलफूलको अध्ययन अनुसन्धान हुनेछ ।

तरकारीका लागि सेन्टर स्थापना गरेको छ भने तरकारीका हरेक कुरा त्यहाँ पाउँछन् । अध्ययन अनुसन्धानदेखि तालिम, विज्ञ, अनुसन्धानकर्ता, औजार, बीउ बिजनलगायत हरेक कुरा त्यहाँ पाइने प्रवक्ता घिमिरेले बताउनुभयो । तरकारीसँग सम्बन्धित अरू कुनै कुरा खोज्न, बुझ्न, जान्नका लागि अरू कुनै ठाउँ जान नपरोस् भनेर नै यो सेन्टर अफ एक्सलेन्सी स्थापना गर्न लागिएको हो । त्यस्तै कुनै ठाउँमा फलफूलका लागि सेन्टर अफ एक्सलेन्सी स्थापना गरिएको छ भने फलफूलका हरेक कुरा त्यहीँबाट पाइन्छ । तालिमदेखि लिएर अध्ययन अनुसन्धान, बीउ, बोटबिरुवालगायत हरेक कुरा त्यहीँबाट पाइन्छ । त्यसैले त्यसलाई सिकाइको उत्कृष्ट थलो भनिएको छ ।

यो सेन्टर अफ एक्सलेन्सी स्थापना गर्नुको उद्देश्य हो, इजरायली प्रविधिबाट नेपालमा खेती प्रणाली सुरु गर्नु । इजरायलबाट तालिम लिएर आएकाहरूले नेपालको कृषि क्षेत्रमा राम्रो प्रगति गरेको देखिन्छ । त्यसैले सो प्रविधिलाई सरकारीस्तरबाट नै किसानसम्म पु¥याउने लक्ष्य कृषि मन्त्रालयले लिएको मन्त्रालयका सहसचिव डा. हरिबहादुर केसीले बताउनुभयो ।

कम जनशक्ति, कम लगानीमा इजरायलले पछिल्लो समय कृषिमा राम्रो प्रगति गरेको छ । त्यसले प्रयोग गर्ने प्रविधिले उत्पादनमा निकै वृद्धि गरेको छ । त्यसो भए नेपालले त्यो प्रविधिलाई किन नअपनाउने भनेर इजरायलको प्राविधिक सहयोगमा सेन्टर अफ एक्सलेन्सी स्थापना गर्न लागेको हो । सो सेन्टर अफ एक्सलेन्सीमा सबै प्रविधि इजरायली नै हुन्छ ।

इजरायली प्रविधिमा आधारित जनशक्ति तयार गरी देशैभर त्यसलाई परिचालन गर्ने लक्ष्य कृषि मन्त्रालयको रहेको छ । सेन्टर अफ एक्सलेन्सीमा जनशक्ति तयार गर्नुका साथै इजरायली प्रविधि पनि तयार गर्ने योजना रहेको छ । इजरायली प्रविधिअनुसार बीउ, बिरुवा पनि उत्पादन गरेर बिक्री वितरण गर्ने लक्ष्य पनि रहेको छ । यो सेन्टर सञ्चालनका लागि पनि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने भएको छ । याे समाचार गाेरखापत्र दैनिकमा प्रकाशित भएकाे छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *