नेपाल टेलिकमको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न

इन्भेष्टोपेपर । चैत्र १४, २०७७

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको तेह्रौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०७६।७७ को मुनाफा रकम मध्येबाट प्रति शेयर ४० रुपैयाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

साधारणसभामा करिब ९२ प्रतिशत शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०७६।७७ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७६।७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।

यसैैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७७/७८ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट प्रकाशजंग थापा र चार्टर्ड एकाउण्टेण्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, निर्वाचन अधिकृतको कार्यालयका तर्फबाट निर्वाचन अधिकृतले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको सञ्चालकका रुपमा अम्बिका प्रसाद पौडेल निर्विरोध रुपमा निर्वाचित हुनुभएको भनी गरेको घोषणालाई साधारणसभाले अनुमोदन गरेको छ ।

सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै उपभोक्तावर्गको अपेक्षाअनुरूप किफायती, अत्याधुनिक र गुणस्तरीय दूरसञ्चार सेवा उपलब्ध गराई कम्पनीलाई सबल र अग्रणी संस्थाको रूपमा विकास गर्न शेयरधनीहरूबाट प्राप्त सहयोग, सद्भाव र सहकार्यका लागि सञ्चालक समितिको तर्फबाट हार्दिक आभार व्यक्त गर्नुभयो ।

महामारीको अवस्थामा मुलुकको शैक्षिक सत्रलाई पार्नसक्ने प्रभावलाई न्यूनीकरण गरी शैक्षिक संस्थाहरूमा किफायती मूल्यमा वैकल्पिक शिक्षा प्रणाली अगाडि बढाउन नेपाल टेलिकमले ह्याप्पी लर्निङ प्याक र पाठशाला सीयूजी सिम उपलब्ध गराएको र यसले विद्यार्थीहरुको पठनपाठनमा निकै सहयोग पुगेको उहाँले बताउनु भयो ।

आ.व. २०७६/७७ को अन्तसम्ममा भ्वाइस सेवाको ग्राहक आधार करिब २ करोड पुगेको छ । त्यस्तै इन्टरनेट सेवाको ग्राहक आधार ९.९३ प्रतिशतले वृद्धि भई करिब १ करोड ५० लाख पुगेको छ । जीएसएम सेवा कम्पनीको राजस्वको प्रमुख मेरुदण्डीय आधारको रूपमा स्थापित भइसकेको छ भने कम्पनीको भविष्य इन्टरनेट सेवामा रहेको स्वीकार गर्दै चौथो पुस्ताको फोरजी/एलटीई सेवा विस्तारमा स्रोत/साधन परिचालन गर्दै आएको छ ।

कम्पनी विगतमा जस्तै समीक्षा अवधिमा भ्वाइस र इन्टरनेट सेवाको बजार हिस्सामा अग्रस्थान कायम गर्न सफल भएको छ । कम्पनीको भ्वाइस र इन्टरनेट सेवाको बजार हिस्सा क्रमशः ५२.६९ र ४८.६८ प्रतिशत पुगेको जानकारी गराइयाे ।

अनेकौं चुनौती एवं जोखिमका बाबजुद आ.व. २०७६/७७ मा कुल राजस्व र खुद नाफा क्रमशः रू. ४२ अर्ब ९९ करोड र रू. ९ अर्ब ७५ करोड कायम गर्न कम्पनी सफल भएको बताउँदै उहाँले सेवाको गुणस्तर स्त्तरोन्नती, ग्राहकवर्गको अपेक्षा सम्बोधन तथा प्रतिस्पर्धी मूल्यमा सेवा प्रवाह गर्न सदैव तत्पर रहेको बताउनु भयो ।

तेह्रौँ साधारण सभाले पारित गरे बमोजिमको लाभांश रकम आज (२०७७ चैत १३ गते) देखि एनएमबी बैंकमार्फत शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था गरिएको छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *