प्रधानमन्त्री अझै केही दिन ग्राण्डी अस्पतालमै बस्नुपर्ने

Investopaper, कार्तिक १४, २०७६

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीको आज पनि मिर्गौलाको डायलासिस गरिने भएको छ ।

बुधबार धापासीमा रहेको ग्राण्डी अस्पतालमा भर्ना गरिएका प्रधानमन्त्री ओलीको मिर्गौलाको डायलासिस सुरु गरिएको र आज पनि डायलासिस गरिने अस्पताल स्रोतले जनाएको छ । 

तर अस्पतालका मेडिकल डाइरेक्टर डा. चक्रराज पाण्डे र प्रधानमन्त्रीका निजी चिकित्सक तथा ग्राण्डी अस्पतालका मिर्गौला विभाग प्रमुख प्राध्यापक डा. दिब्या सिंह शाहले निकालेको विज्ञप्तिमा भने डायलासिसबारे केही भनिएको छैन ।

बुधबार साँझ निकालिएको विज्ञप्तिमा प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको र आवश्यक परीक्षण पूरा भएपछि बिहीबारसम्ममा अस्पतालबाट डिस्चार्ज गरिने उल्लेख छ । 

तर अस्पतालका एक डाक्टरले नाम उल्लेख नगर्ने शर्तमा दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीको थप डायलासिस गर्नुपर्ने भएकाले उहाँ अझै केही दिन अस्पतालमै बस्नुपर्ने सम्भावना छ । ती डाक्टरले प्रधानमन्त्रीको रगतमा हानिकारिक क्रेटिनाइनको मात्रा बढी देखिएकाले थप डायलासिस गर्न लागिएको तथा उहाँलाई संक्रमणको पनि जोखिम रहेकाले कडा खालको एन्टिबायोटिक चढाइएको पनि जानकारी दिएका छन् । 

प्रधानमन्त्री ओलीको १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गाैला प्रत्यारोपणपछि उहाँले नियमित स्वास्थ्य जाँच गराउँदै आउनुभएको छ । यसअघि प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा नियमित स्वास्थ्य जाँच हुन्थ्यो । तर सहजताको लागि निजी चिकित्सक शाह नै मिर्गौला विभागको प्रमुख रहेको ग्राण्डीमा उहाँको स्वास्थ्य जाँच हुन थालेको हो ।

यसअघि गएको साउन र भदौमा प्रधानमन्त्री ओलीको सिंगापुरमा उपचार भएको थियो । त्यतिबेला शरीरबाट ‘एन्टिबडी’ हटाउन ‘प्लाज्मा फेरेसिस’ गरिएको थियो ।

मिर्गौला प्रत्यारोपणपछि ओलीलाई धपेडी नगर्न र भिडभाडबाट टाढै रहन डाक्टरले सुझाव दिँदै आएका छन् । तर उहाँ नियमित भेटघाट र अरु कार्यक्रममा सक्रिय सहभागी हुँदै आउनुभएको छ । तिहारमा पनि उहाँ सिस्नुपानी नेपालको देउसी भैलो कार्यक्रममा सहभागी हुनुभएको थियो । याे समाचार आजकाे उज्यालाे खवर पत्रिकामा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *