मैत्रीपूर्ण खेलमा गाेलकाे बर्षाः एउटै खेलमा २३ गोल, ४ ह्याट्रिक
Investopaper, श्रावण २५, २०७६
म्युनिख — जर्मन क्लब बायर्न म्युनिख र एफसी रोटाच एगर्नबीच बिहीबार राति खेलिएको मैत्रीपूर्ण फुटबल खेल निकै चर्चित बन्न पुग्यो । उक्त खेलमा बायर्न म्युनिखले अर्को जर्मन क्लब रोटाच एगर्नलाई २३–० गोलको विशाल अन्तरले हराएकाे छ।
यसै महिना सुरु हुने बुन्डेस लिगाको तयारीका क्रममा उक्त मैत्रीपूर्ण खेल खेलिएको थियो । जर्मनीको घरेलु लिग अगस्ट १७ देखि सुरु हुँदैछ । बायर्न म्युनिख जर्मनीको घरेलु लिग च्याम्पियन क्लब पनि हो ।
खेल सुरु भएको छैटौं मिनेटदेखि नै बायर्नले विपक्षीविरुद्ध गोल वर्षा सुरु गरेको थियो । बायर्नका चार खेलाडीले ह्याट्रिक गर्ने मौका पाए । कोरेन्टिन टोलिसो एक्लैले चार गोल गरे । उनले ३८औं, ४०औं, ४१औं र ४२औं मिनेटमा गोल गरे ।
यसै गरी ह्याट्रिक गर्ने अन्य खेलाडीहरूमा रोबर्ट लेवान्डोवस्की, थोमस मुल्लर र क्वासी ओकिरेले पनि तीन/तीन गोल थपे ।