शेयर लगानीकर्ताले शुरू गरे रिले अनशन, के के छन् त दश सूत्रीय मागहरू
INVESTOPAPER, Dec 09, 2018
निरन्तर शेयर बजार ओरालो लागेर आजित बनेका लगानीकर्ताहरूले दश बुदेँ माग सहित आइतबारदेखि नेप्सेमा रिले अनशन सुरु गरेका छन् । लगानीकर्ताको सम्पति सुरक्षा गर्न सरकार र नियमनकारी निकायहरु उदासिन देखिएको हुंदा दबाब दिन रिले अनशन आयोजना गरिएको शेयर लगानीकर्ता दबाब समूहले जनाएको छ ।
दबाब समूहले पूंजी वजार सुधार र विस्तारका लागी भन्दै आब्हान गरेको अनशनमा सहभागी हुन लगानीकर्ता नेप्सेको कार्यालय अगाडी भेला भै रिले अनसनमा सरिक भएका छन् र उक्त आन्दोलनलाई शेयर लगानीकर्ता संघ र नेपाल पूँजीबजार संघले पनि ऐक्यबद्धता जनाएका छन् ।
दश सूत्रीय मागहरू देहाए वमाेजिम रहेका छन् ।
१. सरकारले पूँजी बजारसम्बन्धी आफ्नो धारणा तथा नीति स्पष्ट गरोस र बजार सुधार तथा बिस्तारका लागि तत्काल बिशेष कार्यक्रम ल्याओस् ।
२. अनलाईन कारोबार प्रणालीको पहुँच तत्काल आम लगानीकर्तामा पुर्याईओस् ।
३. धितोपत्र बोर्डले तीन बर्ष अघिदेखि गैर आवासीय नेपाली र विदेशमा बस्ने नेपालीलाई पूँजी बजारमा ल्याउन कार्यविधि बन्दै गरेको भन्दै आएकोमा तत्काल सो कार्यविधि लागु गरी उनीहरुलाई पूँजी बजारमा भित्र्याईयोस् ।
४. शेयर दलाल मार्फत मार्जिन ट्रेडिड. तत्काल खुला गरियोस् ।
५. शेयर धितो कर्जाको सिमा धितो मूल्यांकनको ८० प्रतिशत पुर्याईयोस र जोखिम भारित अंश १०० प्रतिशत वा सो भन्दा कम कायम गरी सस्तो ब्याजमा कर्जा प्राप्त हुने ब्यवस्था गरियोस् । प्राथमिक पूँजीको २५ प्रतिशतसम्म हैन, कुल कर्जा लगानीको २५ प्रतिशत रकम बैंक तथा बित्तीय संस्थाले शेयर धितो कर्जा प्रबाह गर्नसक्ने ब्यवस्था होस् ।
६. धितोपत्र बोर्डले तीन बर्षदेखि भन्दै आएको मार्केट मेकर र डिलरशीपको तत्काल ब्यवस्था होस् ।
७. ग्रेड चार र पाँच रेटिड. प्राप्त गरेका कम्पनीहरुलाई आईपीओ बिक्री गर्न तत्काल बन्देज लगाई जलबिद्युत र अन्य कम्पनीहरुलाई प्रत्यक्ष नियमनकारी निकायको ब्यवस्था भएपछि मात्र आईपीओ ल्याउन पाउने ब्यवस्था गरियोस् ।
८. कम्पनीले हकप्रद शेयर बिक्रीको प्रस्ताब सार्वजनिक गर्नु अगाबै संस्थापक र आधारभुत शेयरधनीहरुले प्रस्तावित हकप्रदको ७५ प्रतिशत रकम जम्मा गरेपछि मात्र प्रस्ताब सार्वजनिक गर्न र साधारणसभामा पेश गर्न पाउने ब्यवस्था गरियोस् ।
९. सहायक कम्पनी खोलेर आबेदन गरेका बाणिज्य बैंकलाई तत्काल ब्रोकर लाईसेन्स दिनुका साथै देशका सबै जिल्ला समेट्ने गरी नयाँ शेयर दलालहरुलाई तत्काल ब्रोकर लाईसेन्स दिएर पूँजी बजारमा देशभरिका जनताको पहुँच कायम हुने ब्यवस्था गरियोस् ।
१०. कम्पनीहरुले एफपीओ बिक्रीको प्रस्ताब गर्दा प्रति शेयर नेटवर्थ भन्दा मूल्य बढी नहुने शर्तमा मात्र स्वीकृत गरियोस् ।
