संक्रमण बढ्न थालेसँगै परीक्षणलाई तीव्र बनाउँदै कामपा

इन्भेष्टोपेपर । जेष्ठ ५, २०७

काठमाडौं । हरेक दिन कोभिड–१९ संक्रमितको संख्या डरलाग्दो गरी बढ्न थालेपछि काठमाडौं महानगरपालिकाले बढी भिडभाड हुने स्थानमा परीक्षणलाई तीव्र बनाएको छ ।  

कोभिडको संक्रमण अवस्था पहिचान गरेर महामारी नियन्त्रण गर्न कामपा र इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले संयुक्तरूपमा एन्टिजेन परीक्षण थालेका हुन् । 

परीक्षणका क्रममा मंगलवार कालीमाटी तरकारी बजारमा ४०२ जनामा एन्टिजेन परीक्षणमा गरिएकामा १२ जनामा पोजिटिभ देखिएको कामपाले जानकारी दिएको छ । बुधवार टुकुचा तरकारी बजारमा परीक्षण गरिने छ ।

स्वास्थ्य मन्त्रालय र सीसीएमसीले पहिचान गरेका उच्च संक्रमणको सम्भावना रहेका स्थानहरुमा परीक्षण शुरु गरिएको हो । यस किसिमको परीक्षण १० हजार जनामा गर्ने लक्ष्य रहेको छ । कामपा स्वास्थ्य महाशाखा प्रमुख हरि कुँवरले भन्नुभयाे, ‘परीक्षणबाट आएको नतिजाले लक्षणसहितका बिरामीलाई अस्पताल पठाउन र लक्षण नभएका बिरामीलाई होम आइसोलेशनमा बस्न तथा निगरानी गर्न सहज हुनेछ ।’ 

उहाँका अनुसार कामपाको सहकार्यमा धेरै संक्रमित भएका असन, डिल्लीबजार न्युरोड, बालुवाटार र कोटेश्वरमा परीक्षण गरिने छ भने भक्तपुरको भक्तपुर दरबार स्क्वायर, ललितपुरको पाटन दरबार स्क्वायरलगायतका स्थानमा सम्बन्धित स्थानीय तहको सहकार्यमा एन्टिजेन परीक्षण हुनेछ । 

कामपाले कोरोनाका बिरामी बढेसँगै पीसीआर विधिबाट पनि परीक्षणलाई तीव्र बनाएको छ । गत शनिवारसम्म स्वाब संकलनका लागि पाँच ओटा केन्द्र बनाएर काम गरिरहेको कामपाले हरेक दिन संक्रमितको संख्या बढ्दै गहेकाले आइतवारदेखि १६ ओटा स्थल तोकेर परीक्षणलाई तीव्र बनाएको छ ।  

कामपाको ३२ वडाबाट मात्रै अहिले हरेक दिन ६०० जनाको परीक्षण हुने गरेको र परीक्षण गरिएकामध्ये ४२० जनामा पुष्टि हुने गरेको कामपा जनस्वास्थ्य महाशाखाले जानकारी दिएको छ । कामपाका ल्याव टेक्निसियन राधिका कुँइकेलका अनुसार परीक्षणका लागि आवश्यकताअनुरूप टोली तयारी अवस्थामा रहेको छ ।  ‘कोरोनाको शंका देखिएका र वडाले खटाएअनुसार अहिले परीक्षणको कामलाई व्यापक बनाइएको छ’, कुँइकेलले भन्नुभयाे । 

परीक्षण मात्रै होइन, परीक्षणका क्रममा समस्या बढी भएका बिरामीका लागि एम्बुलेन्समा राखी अस्पतालसम्म लाने र ल्याउने व्यवस्थासम्म कामपाले नै गर्दै आएको छ । यसका लागि नागरिकले पैसा तिर्नु पर्दैन । यसरी कोरोना पोजिटिभ भएका बिरामीका लागि एम्बुलेन्ससँग कामपाले दुई हप्ताअघि नै सम्झौता गरिसकेको छ । 

उक्त सेवा कामपाको २३ ओटा वडामध्ये सात स्थानबाट नागरिकले प्राप्त गर्न सक्नेछन् । कोरोनाका बिरामीले मात्रै नभई अन्य दीर्घ रोग भएका कसैलाई अस्पतालसम्म जान र आउन परेमा पनि कामपाले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरेको छ । त्यसका लागि आवश्यक पर्ने जो कोहीले ११८० कामपाको हटलाइन नम्बरमा सम्पर्क गर्नुपर्ने छ । हाल कामपामा ११ हजार ६३१ कोरोनाका सक्रिय संक्रमित रहेका छन् । (रासस)

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *