आयातमा कडाइपछि व्यापार घाटा ३ प्रतिशत घट्यो

Investopaper, असाैज १८, २०७६

काठमाडौं — मुलुकको व्यापार घाटा ३ प्रतिशतले घटेको छ  । सवारी साधन, क्लिंकर सिमेन्ट, इन्धनको आयातमा केही कमी आएपछि व्यापार घाटा घटेको हो  ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ को पहिलो दुई महिनामा व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँ भएको छ ।

०७५/७६ को पहिलो दुई महिनामा घाटा २ खर्ब १७ अर्ब ६४ करोड रुपैयाँ थियो । ‘घाटा कम हुनुको मुख्य कारण आयातमै कमी हो । सवारी साधानको आयात घटेको छ । क्लिंङकर र सिमेन्टसँगै इन्धनको आयातमा पनि केही कमी देखिन्छ,’ भन्सार विभागका प्रवक्ता शिशिर घिमिरेले भने, ‘यही अवधिमा निर्यात बढेकाले घाटा घटेको छ ।’

उनका अनुसार दुई महिनाको अवधिमा सबैभन्दा बढी वनस्पतीको तेल/घिउ, धागो, तयारी पोसाक, पस्मिनाको निर्यात भएको छ । वनस्पती घिउतेल/पाम आयल मुख्यतः भारत नै निर्यात हुन्छन् । तयारी पोशाक तथा धागो भने तेस्रो मुलुकतर्फ निर्यात भएको उनले बताए । विभागको तथ्यांकअनुसार दुई महिनाको अवधिमा २ खर्ब ४८ अर्ब रुपैयाँको कारोबार भएको छ । जसमध्ये २ खर्ब २९ अर्ब रुपैयाँको आयात भएको छ । १८ अर्ब रुपैयाँको निर्यात भएको छ ।

निर्यात रकम अघिल्लो वर्षको पहिलो दुई महिनाको तुलनामा करिब २६ प्रतिशतले बढी हो । ०७५/७६ को पहिलो दुई महिनामा १४ अर्ब ६९ करोड रुपैयाँको निर्यात भएको थियो । जानकारका अनुसार घाटा कम हुनु सकारात्मक भए पनि निकासी व्यापारमा दिगोपन छैन ।

‘निकासी ३ अर्ब बढे पनि तेस्रो मुलुकबाट आयात हुने वनस्पती पुनः प्रशोधन गरेर निर्यात भएको छ । वनस्पती मात्रै ४ अर्बभन्दा बढी,’ पूर्ववाणिज्य सचिव पुरुषोत्तम ओझाले भने, ‘स्वदेशी कच्चा पदार्थमा आधारित वस्तु होइन । त्यस्तो किसिमको निर्यातले रोजगारी र आम्दानी बढाउन सक्दैन ।’ सरकारले निर्यात बढाउने विधि पनि अपनाएको जनाएको छ । व्यापार घाटा चुलिएपछि सरकारले १९२ बुँदे कार्ययोजना तयार पारेको छ ।

विभिन्न निकायले गर्नुपर्ने कार्यहरूको जिम्मेवारी तथा समयसारिणीसहित व्यापार घाटा न्यूनीकणसम्बन्धी कार्ययोजना तयार गरिएको छ । कार्ययोजनामा प्रधानमन्त्री कार्यालयदेखि गृह मन्त्रालयका १५ मन्त्रालय र निकायका भूमिका तोकिएको छ । कार्ययोजनाले पाँच वर्षभित्र नेपालको निर्यात–आयात अनुपातमा सुधार गर्ने उल्लेख छ । यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले निर्यात प्रवर्द्धनका लागि प्रमुख २८ वस्तु पहिचान गरेको छ ।

मन्त्रालयले अलैंची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक, कपडा र धागो, लेदर, जुत्ता, च्यांग्रा पस्मिना, गलैंचा कफीलगायत वस्तुलाई सूचीमा राखेको छ । तरकारी तथा तरकारीको बीउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मसुरो, जुट ब्याग, छुर्पी पनि सूचीमा समावेश गरिएको छ । ती वस्तुहरूको कूटनीतिक एजेन्सी र नेपाली दूतावासमार्फत प्रवर्द्धन सुरु गरिएको छ । तर, कृषिजन्य वस्तुकै आयात उल्लेख्य बढेको छ । ‘तरकारी, फलफूल तथा खाद्य वस्तुको आयात उल्लेख्य बढेको छ । योजना बने पनि उत्पादन बढेर निर्यात हुन सकेन । जसले गर्दा आयात बढ्यो,’ ओझाले भने, ‘निकासीको दिगोपनका लागि कृषिजन्य वस्तुको आयातमै केन्द्रित हुन जरुरी छ ।’ याे समाचार आजकाे कान्तिपुर दैनिकमा छ ।

Share This Via:

Investopaper

Investopaper is a financial website which provides news, articles, data, and reports related to business, finance and economics.

Leave a Reply

Your email address will not be published. Required fields are marked *