कविता : ‘आमा भएको घर’
— हृदय लेकाली
( शार्दूलविक्रीडित छन्दमा )
आमा हौ धरणी धरा जगतकी आमा तिमी ईश्वर
तिम्रो काखविना कुनै मनुजको बन्दैन ठाडो शिर
जन्मायौ सहजै सहेर दिलको पीडा भयो मत्थर
चारैधाम हुने छ सार्थक त्यही आमा भएको घर।
सिङ्गो रात भएन पूर्ण अनिदो सुत्थ्यौ नि आधा निद
ओछ्यानै गुहु मुत्रले लतपती हुन्थ्यो नि बच्चासित
क्यै टन्टो नभनी सबै सहन भो आफै भयौ तत्पर
सारा रोग विनाश हट्छ सजिलै आमा भएको घर।
तिम्रै प्राण छ कोषमा छ धमनी रातो छ रक्तै पनि
राख्यौ नौ महिना तिमी उदरमा कस्तो भयो जीवनी
तिम्रा ती क्षण नै भए हरघडी बाँच्ने कि मर्ने डर
बैकुण्ठै पनि मान्छ हार सजिलै आमा भएको घर।
हुर्कायौ कलिला मुना जतनले पायौ नि सास्ती अति
आफ्ना लक्ष्यहरू थिए मन भरी मार्यौ सहेरै कति
आफ्ना ती शिशुमा सदैव ममता पोख्यौ अपारै वर
मायाको गहिरो छ सागर जहाँ आमा भएको घर।
सिङ्गो यो दुनियाँ छ स्वर्गसरि नै आमा भएको पल
सिङ्गो त्यो घर हुन्छ दीप सरिको आमा रमेको पल
ब्रह्मा विष्णु शिवै भए तल सधै आमा बसेको घर
लक्ष्मीको छ सधैँ नि बास घरमा आमा भएको घर ।
भित्रिन्छन् घरमा सधैँ सुखहरू आमा पुजेको घर
टाढिन्छन् नि अनित्य दोष घरमा आमा बुझेको घर
आमाको महिमा अपार छ नि लौ संझेर सेवा गर
चौधै लोक अधीनमा छ सबको आमा भएको घर।
— सिद्धार्थनगर, रूपन्देही
